काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरणको खेलहरु जारी छ । तर, अन्तिम चरणको खेल चलिरहदासम्म च्याम्पियन टोलीको टुंगो लाग्न सकेको छैन ।
अन्तिम चरणको खेलहरु शनिबार (भोली) बाट सकिदैछ । अर्थात् , यस सिजनको लिग शनिबार सकिनेछ । यस्तोमा लिग च्याम्पियनको टुंगो समेत अन्तिम दिन तय हुनेछ ।
यस सिजनको लिगको अन्तिम खेलमा भिड्ने छन् , मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब ।
लिगकै हेबी वेट क्लब मछिन्द्र र विभागीय टिम आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
यहिँ मछिन्द्र र आर्मीबीचको खेलपछि लिगले नयाँ च्याम्पियन टोली पाउनेछ । र, च्याम्पियन बन्नका लागि दुवै टोली तयार छन् ।
लिग लिडर आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क समेत छन् ।
'पक्कै पनि लिगमा हाम्रो तयारी च्याम्पियन बन्ने थियो । भोली जित्नकै लागि खेल्नेछौँ,' मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले आर्मीसँगको खेलअघि भने, 'आर्मीविरुद्ध थोरै मौका पाउने छौँ । त्यसलाई सदुपयोग गर्नु पर्छ ।'
लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मीभन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।
'आर्मीसँग जित्नै पर्ने दबाब छ । यसको बिकल्प छैन । आर्मीलाई बराबर भए पुग्छ,' प्रशिक्षक कटवाल भन्छन्, 'आर्मी राम्रो छ । गोल गर्न गाह्रो छ । त्यसको बाबजुत हामी च्याम्पियनको लागि खेल्छौं । आर्मीलाई बराबरीको अवसर छ । त्यसको फाइदा लिन्छौ ।'
यस सिजनको उपाधि जित्न साविक विजेता मनाङ मर्स्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मछिन्द्रले लिगमा मात्र एक हार व्यहोरेको छ । तर, गत सिजनको खराब प्रदर्शनको कारण मछिन्द्रले एक अंक सुरुवातबाटै गुमाएको छ । त्यहिँ गुमाएको अंकले मछिन्द्र आर्मीसँग पछि रहेको हो ।
यस्तै मछिन्द्रले लिगको अन्तिम खेलअघि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ति मगरलाई पनि अनुबन्ध गरेको छ । आर्मीविरुद्धको अन्तिम खेलमा मछिन्द्रले विमललाई मैदान उत्राने छ ।
मछिन्द्रलाई खेलाडीको चोटले भने सताउनेछ । कप्तान विराजसहित दिपक राई र सुजल श्रेष्ठ पूर्ण फिट छैनन् ।
तर, अन्तिम खेलमा टिमलाई जितको विकल्प नभएको कप्तान विराज बताउँछन् ।
'आर्मीलाई भन्दा हामीलाई महत्वपूर्ण खेल छ । जित बाहेक दोस्रो विकल्प हामीलाई छैन । पछिल्लो १-२ खेलले हामीलाई घाटा भयो,' उनले भने ।

मोफसलको प्रतियोगितामा दर्जन बढी उपाधि जितेको आर्मीले लिगको उपाधि जित्न सकेको छैन । त्यसैले मछिन्द्रविरुद्धको अन्तिम खेलमा आर्मी इतिहास रच्न चाहन्छ । जसमा लागि आर्मी आतुर देखिएको छ ।
'हामी इतिहास रच्ने दाउमा छौँ । मछिन्द्र राम्रो टिम हो । तर, हाम्रो टिम वर्कछ । हाम्रो बलियो पक्ष पावर खेल हो,' मछिन्द्रसँगको खेलअघि आर्मीका प्रशिक्षक नविन न्यौपाने भन्छन्, 'अहिलेसम्म लिग जितेका छैनौँ । यो पटक अवसर छ । अट्याकिङ खेल खेल्छौ । बराबरीका लागि हैन जित्नकै लागि खेल्छौ ।'
लिगको १२ खेलमा आर्मीले ९ जित निकालेको छ । दुई खेलमा बराबरी र १ हार व्यहोरेको छ । तर, आर्मीले सुरुवातमा भन्दा पछिल्लो समय लयात्मक खेल खेलिरहेको छ ।
यस्तै मछिन्द्रविरुद्ध आर्मीलाई दबाब कम हुनेछ । मछिन्द्रविरुद्ध आर्मी जित अथवा कम्तिमा बराबरी गर्ने योजनामा हुनेछ ।
'दबाब लिएर खेल्यौं भने हार्ने सम्भावना हुन्छ । त्यसैले दबाबरहित खेल्नेछौँ । हामीलाई एउटा मौका आएको छ सदुपयोग गर्न चाहन्छ,' प्रशिक्षक न्यौपाने भन्छन् ।
लिगको अन्तिम खेलमा आर्मीलाई खेलाडीको चोटले खासै सताउने छैन । उसका दिनेश हेन्जनबाहेक अन्य खेलाडी पूर्ण रुपमा फिट छन् । जसको फाइदा आर्मीले उठाउने छ ।
आर्मीका कप्तान भरत खवास पनि टोलीलाई ऐतिहासिक उपाधि दिलाउन तयार छन् । त्यसैले उनले मछिन्द्रविरुद्ध जितबाहेक अन्य विकल्प सोचेका छैनन् ।
'लिगको उपाधि जित्न सकेका छैनौँ । त्यसैले हाम्रो लागि महत्वपूर्ण खेल हो । भोलिको दिन खास हुनेछ । त्यसमा केन्द्रित छौँ । सबै खेलाडी तयार छन्,' भरत भन्छन्, 'मछिन्द्रसँग अनुभवी र राम्रो विदेशी खेलाडी छ । मछिन्द्र बलियो छ । तर, जित बाहेक अन्य विकल्प छैन । बराबरीबारे सोचेका छैनौँ ।'