काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष ६ मा रहन बिहिबार नेपाल पुलिस क्लबलाई जितको विकल्प थिएन । लिगको अन्तिम खेलमा पुलिसको प्रतिद्वन्द्वी थियो फ्रेन्ड्स क्लब ।
फ्रेन्ड्सविरुद्धको जितले मात्रै पुलिस शीर्ष ६ मा पुग्ने निश्चित थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल सुरु भयो । तर, युवा खेलाडीलाई सुरुवातमा मैदान उतारेका प्रशिक्षक अनन्त राज थापाको रणनीति सफल भईरहेको थिएन ।
पहिलो हाफमै उनले डिफेन्डर मान बहादुर तामाङलाई निकाल्दै भेट्रान मिडफिल्डर भोला सिलवाललाई मैदान पठाए । भोलाको प्रवेशसँगै टिमले केहि सुधारीएको खेल देखाएपनि गोल गर्न भने असमर्थनै रह्यो ।
दोस्रो हाफको सुरुवातमै प्रशिक्षक थापाले अर्का भेट्रान खेलाडी जुमानु राईलाई मैदान छिराउने निर्णय गरे । जुन निर्णय सहि साबित भयो । प्रशिक्षकको निर्णयलाई जुमानुले पनि न्याय गरे । दोस्रो हाफमा मैदान छिरेका जुमानुले ह्याट्रिक गर्दै टिमलाई सुपर सिक्समा लैजान सफल भए । जुमानुको ह्याट्रिक जारी लिगको दोस्रो ह्याट्रिक हो ।
यस्तै जुमानुको ह्याट्रिक लिगको सबै भन्दा छिटो ह्याट्रिक समेत हो । जुमानुले खेलको ४९, ५६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

गत सिजन शान्ति मिसनका कारण लिग गुमाएका जुमानुले ७० सालपछि लिगमा पहिलो पटक गोल गरेका थिए । पुलिसको जितमा ह्याट्रिक गरेपछि जुमानुले आफुले प्रशिक्षकको निर्णयलाई न्याय गरेको बताए ।
‘आज अन्तिम खेल थियो । जसरी पनि सुपर सिक्समा हामीलाई छिर्नु थियो । गोल भईरहेको थिएन । प्रशिक्षकले मैदान छिराउँछन् जस्तो लागेको थियो । तर कुन समय हुन्छ । कोचको निर्णय कुरेर बसेको थिए । दोस्रो हाफको सुरुमै छिराउँनु भयो । त्यसको मैले न्याय पनि गरे ।’ जुमानुले भने ।
प्रशिक्षक थापाले मिडफिल्डर हेमन्त श्रेष्ठको स्थानमा जुमानुलाई मैदान पठाएका थिए । मैदान छिरेको पहिलो अवसरमै जुमानुले गोल गरेका थिए ।
टिमको लागि दोस्रो गोल गरेपछि जुमानुले सुपर सिक्स पक्का भएको सेलिब्रेसन गरेका थिए । लिगमा पुलिसले ६ खेलमा जित, २ खेलमा बराबरी र ५ खेलमा हार व्यहोर्दा २० अंक जोडेको छ । पुलिस पाँचौं स्थानमा रहेको छ ।
लिगका सुरुवाती खेलमा प्लेईङ सेटमै रहेपनि जुमानु पछिल्लो समय बेन्चमा रहँदै आएका थिए ।
तर, खेल जीवनको उत्तार्धमा रहेका ३५ वर्षीय जुमानुले खेललाई नरोक्ने बताए । जुमानुले आफ्नो फिटनेशलाई बलियो बनाउन सके खेल्न उमेरले कहिल्यै नरोक्ने समेत बताए ।
‘म अहिले फिटनेशकै कारण खेलिरहेको छु । उमेरले केहि हुँदैन । फिटनेश बलियो हुनुपर्छ,' जुमानुले भने, 'पछिल्लो समयको लिगमा रहिन र अहिले मेहनतले ह्याट्रिक गर्न सफल भए ।’

यस्तै जुमानुले बाघ कहिल्यै बूढो नहुने बताउँदै फिटनेशले साथ दिएसम्म क्लबबाट खेलिरहने बताए ।
‘सुपर सिक्समा पुग्छ कि पुग्दैन भन्ने चिन्ता थियो । भनिन्छ नि बाघ कहिल्यै बूढो हुँदैन भनेर आज सोहि भएको हो,’ ह्याट्रिक गरेपछि जुमानुले थपे ।
राष्ट्रिय टिमका पूर्व फरवार्ड समेत रहेका जुमानुले राष्ट्रिय टिमबाट समेत ११ गोल गरिसकेका छन् । उनले सन्यास भने घोषणा गरेका छैनन् । तर, जुमानु राष्ट्रिय टिमबाट सुखद बिदाईको तयारीमा रहेका छन् ।