काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफमा भने तीन गोल गर्यो । जसमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुमानु नायक बने ।

खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले पहिलो आक्रमणमै गोल गरे । उनको यो लिगको पहिलो गोल समेत हो ।
खेलको ५६ औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा पुलिसले ३-० को सहज जित पायो ।

फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमानु यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । यस्तै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ । लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ ।
पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रह्यो ।

के भन्छन् प्रशिक्षक ?
पुलिसका प्रशिक्षक अनन्त थापा सुपर सिक्समा पुगेकोमा खुसी देखिए ।
'लिगमा धेरै उतारचढावकाबीच सुपर सिक्समा रहँन पुग्यौं । जुमानुको गोल निकै महत्पवुर्ण रह्यो,' उनले भने, 'लिगमा हाम्रो डिफेन्डर राम्रो हुन सकेन । अब यसैलाई सुधार गर्नुछ ।'
फ्रेन्ड्सका शुक्र तामाङले लिग सोचे जस्तो राम्रो नभएको बताए ।
'पहिलो हाफ राम्रो भयो । दोस्रो हाफमा राम्रो हुन सकेन,'उनले भने, 'लिग सोचेजस्तो भएन । सुपर सिक्सबाट बाहिर रहँन पर्याे ।'
पुलिस प्लेईङ सेट -
अजित भण्डारी,निर कुमार राई, रोशन खड्का,अन्जन राई,प्रवेश कुवर,तेज तामाङ,हेम तामाङ,रबि कुमार पासवान,सुमन सुवेदी, मान बहादुर परियार, हेमन्त श्रेष्ठ
फ्रेन्ड्स प्लेईङ सेट -
यादु सिलवाल,सुरज गुरुङ,विश्व अधिकारी,देव लिम्बु,प्रिजेन तामाङ,सन्जोग महर्जन,सरोज योन्जन,वाग्नेर डी कार्मो,रमेश बर्तौला,साउलो डी,अशिम भुसाल