काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार जावलाखेल र शेर्पाले ३-३ गोलको रोमान्चक बराबरी खेलेका हुन् ।
जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर लामाले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले दुई गोल गर्दा विजय श्रेष्ठले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने शेर्पाले बनाएको थियो । पाँचौं मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाए । २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए ।
खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भयो । जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको थियो । काउन्टरमा आएको बललाई डिबक्स बाहिर समातेपछी रेफ्री प्रकाश नाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड देखाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेरले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसको केहि मिनेटपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई: ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने जावलाखेलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६० औं मिनेटमा फोफानाले हेड गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
खेलको ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा समेटियो । उसका निरज बस्नेत जावलाखेलका कुबेरलाई खराब ट्याकल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पाएको फ्रिकिकमा रुप बहादुरले ७० औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याउदै जावलाखेलको हार टारेका थिए ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहेको छ ।
लिगको १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
शेर्पाविरुद्ध बराबरी गरेपछि जावलाखेलका प्रशिक्षक नरेश थापाले क्लबको सुपर सिक्स पक्का भएको बताए ।
'सोचेको भन्दा फरक खेल भयो । सुरुमा गोल खादा दबाब भयो । अरु ठिकै छ रातो कार्ड किन खायो भन्ने भने लागेको छ,' उनले भने, 'मुख्य कुरा टप सिक्स पक्का भयो ।'
उनले टिममा दुई डिफेन्डर नहुँदा गार्हो परेको समेत बताए ।
शेर्पाका प्रशिक्षक संजिब बुढाथोकीले विपक्षि खेलाडीलाई मार्क गर्न नसक्दा बराबरी खेल्नु परेको बताए ।
'जावलाखेललाई जित्नै पर्ने थियो । त्यसैले उनीहरुले लामो बल खेले । त्यसको फाइदा लिएको थियौं,' उनले भने, 'हाम्रो खेलाडीले पछि मार्क गर्न सकेनन् । धेरै गोल हान्न खोज्दा दबाब भयो । रेलिगेसनबाट बचिसक्यौ भनेर खेलाडीले खेलेनन् जस्तो लाग्छ ।'
जावलाखेल प्लेईङ सेट -
सुरज घिमिरे, कुलदिप कार्की,सुरज ठकुरी, रुप बहादुर लामा,सुशील कुमार यादब,फोडे फोफाना,ड्याडी जुनियर, सुजित बुढाथोकी, सिमान्त थापा, दिलेन लोक्ताम,अरुण ब्लोन
शेर्पा प्लेईङ सेट -
किशोर गिरि, मान बहादुर तामाङ, विजय श्रेष्ठ, त्रिदेब गुरुङ,कमल थापा मगर, विशन गुरुङ, खमिर गिल्सन, स्टेफेन समिर,निरज बस्नेत, दिवस इराउ, उल्रीच सीवी