काठमाडौं । लिगको सूरुवाती ५ खेलसम्म जावलाखेल युथ क्लब अपराजित रहेको थियो ।
लिग तालिकाकाे शीर्ष ६ मा रहने लक्ष्य प्रष्टसंग बताएको उसले क्लब इतिहासकै पहिलो पटक सुखद् सुरुवात पनि गर्याे ।
जव छैठौ चरणको खेल सुरु भयो, लिगको उपाधि दाबेदार मछिन्द्रसँग पराजित भयो ।
छैठौ खेलमा अपराजित यात्रा समाप्त भएपछि जावलाखेलको नतिजा ओरालो लाग्न थाल्यो ।
लिगको अन्तिम चरणको खेलअघि उसले बुधबार हिमालयन शेर्पा क्लबको सामना गर्दैछ ।
लिगको बाह्रौ खेलमा शेर्पाबिरुद्व जित हात पारे जावलाखेलले शीर्ष ६ को दौडमा अगाडी निस्कनेछ ।
बाह्रौ चरणको अन्तिम खेलमा शेर्पा र जावलाखेल भिड्न लागेका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।
लिगको ८४ औं खेलमा जित दर्ता गरे जावलाखेल यथास्थानमा रहने छ ।
बराबरीको नतिजाले समेत जावलाखेलको शीर्ष ६ बलियो नै हुनेछ ।
‘शेर्पा बलियो टिम हो । तर उससँगको खेलमा जित निकाल्दै शीर्ष ६ सुरक्षित गर्ने दाउमा छौं ।’ जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा बताउँछन् ।
कुल्दिप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई शेर्पाबिरुद्ध विदेशी डिफेन्डर अडामा डौम्बियाको अभाव हुनेछ । उनि दोहोरो पहेलो कार्डका कारण टिम बाहिर छन् ।
यता, अन्तिम खेलमा च्यासलविरुद्ध रोमाञ्चक जित निकालेको शेर्पा पनि जावलाखेललाई रोक्ने दाउमा छ । संजिब बुढाथोकीको प्रशिक्षणमा रहेको शेर्पा लिगको तेस्रो जितको खोजीमा छ ।
मानबहादुर तामाङको कप्तानीमा रहेको शेर्पाले आफ्ना मुख्य स्ट्राइकर विश्वास श्रेष्ठलाई चोटका कारण सिजनभरका लागि गुमाईसकेको छ । बुधबार जावलाखेलविरुद्धको जितले पनि शेर्पा ११ औं स्थानमै रहनेछ ।