काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले संकटा क्लबबाट व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए ।
एन्फा एकेडेमीबाट निस्किएपछि भरतले ६३ सालमा संकटा रोजेका थिए । सहिद स्मारक 'ए' डिभिजन लिगको डेब्यु खेल सरस्वतीविरुद्ध ५–० को जितमा भरतले एक गोल गरे ।
आफ्नो डेढ दशकको फुटबल यात्रामा भरतले मंगलबार ५० औं गोलको कोशेढुंगा पार गरेका छन् । आफ्नो करियरकै ५० गोल भने भरतले विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट पुरा गरे ।
एन्फा कम्प्लेक्समा राष्ट्रिय टिमका पूर्व समकक्षी अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाईज क्लबविरुद्ध गोल गर्दै भरतले लिगमा ५० औं गोल पुरा गरे । खेलको पाँचौं मिनेटमा जर्ज प्रिन्स कार्कीको पासलाई सदुपयोग गर्दै भरतले हेड गोल गरेका थिए ।

तर, एक समयमा स्टार फरवार्ड भरतलाई करियरको ५० औं गोल पुरा गर्न १३ वर्ष कुर्नु पर्यो । कहिले चोट त कहिले आर्मीको सैनिक तालिमको कारण टाढा हुँदा उनले अर्धशतक गोलका लागि लामो समय कुर्नु परेको हो ।
संकटाबाट 'ए' डिभिजन लिग सुरुवात गरेका भरत फ्रेन्ड्स हुँदै विभागीय टिम पुलिस पुगेका थिए । पुलिसको २ वर्षे बसाईसँगै भरत आर्मीसँग जोडिएका हुन् । जारी लिगमा ४ गोल गरेका भरतले सुख दुखका साथ अरुको प्रेरणाले ५० गोल पुरा भएको बताए ।
‘लिगमा ५० गोल गर्न एकदमै गाह्रो हुन्छ । सुख दुखका साथ अगाडि बढेको थिए । राम्रा नराम्रा काममा अरुले दिएको प्रेरणालाई लिएर ५० गोल गर्न सफल भए,’ भरतले भने ।
५० गोल गर्ने क्रममा भरतले ६८ सालमा पुलिसबाट सर्बाधिक धेरै गोल गरेका थिए । पुलिसबाट एक सिजन खेल्दा उनले १४ गोल गरेका हुन् । त्यस यता भरत आर्मीबाट खेल्दै आएका छन् । गत सिजन आर्मीबाट ७ गोल गरेका उनले यस पटक भने ४ गोल मात्रै गरेका छन् ।

यस सिजनको लिगबाटै च्यासल युथ क्लबका सन्तोष साहुखलले माथिल्लो श्रेणीको लिगमा १०० गोलको कोशेढुंगा पार गरेका थिए । भरत आफ्नो खेल जीवनकै उत्तरार्धमा १०० गोल पुरा गरेका सन्तोषलाई पछ्याउने दाउमा छन् ।
‘सन्तोष दाईले १०० गोल पुरा गर्नुभएको छ । अब, उहाँलाई भेटाउन लाग्छु,’ भरत भन्छन् ।
नेपालको माथिल्लो श्रेणीको लिगमा ५० गोल गर्ने सातौं खेलाडी बनेका भरतलाई भने राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने हुटहुटी छ ।
राष्ट्रिय टिमका लागि सर्बाधिक १३ गोलको कीर्तिमान तोड्ने भरतको लक्ष्य छ ।
‘यो ५० गोल महत्वपूर्ण मानेको छैन । राष्ट्रिय टिमबाट १३ गोल गर्ने लक्ष्य छ,' भरतले भने, 'आर्मीको ट्रेनिङले गर्दा लक्ष्य पुरा गर्न पाएको थिएन । त्यो तोड्ने आत्मविश्वास छ ।’
राष्ट्रिय टिमका लागि सर्बाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा रहेको छ । दुबैले १३/१३ गोल गरेका छन् ।
पटक पटकको चोटका कारण भरतले राष्ट्रिय तथा अन्तराष्ट्रिय निकै खेल गुमाएका छन् । त्यसैले होला भरत आफ्नो मुख्य दुस्मनी नै चोटलाई मान्छन् ।
‘खेलाडीको दुस्मनी नै चोट हो । मैले यसैसँग धेरै जुधे । त्यसैले पनि म गोल गर्न पछाडी परिरहेको छु,’ भरत भन्छन् ।
अहिले भने भरत आर्मीलाई पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि दिलाउने लक्ष्यमा रहेका छन् ।
आर्मीलाई उपाधि कि राष्ट्रिय टिमको लागि ३ गोल महत्वपूर्ण भन्ने प्रश्नमा भरतले भने, 'आर्मीको लागि उपाधि ।'
शीर्ष डिभिजन लिगको उपाधिको संघारमा रहेको आर्मी लिगको शीर्ष स्थानमा रहेको छ । लिगको अन्तिम खेल बाँकी रहदा आर्मीले मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि बनाएको छ ।
लिगको अन्तिम खेलमा आर्मीले मछिन्द्रसँग फागुन ३ गते खेल्नेछ । उक्त खेलले च्याम्पियन टोलीको तय गर्नेछ । पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्य बनाएको मछिन्द्रलाई जितको विकल्प छैन भने आर्मीलाई बराबरले पुग्ने छ ।
भरतले कुन क्लबबाट कति गोल गरे ?
२०६३ – संकटा ५
२०६६, ६७ - फ्रेन्ड्स ५
२०६८ – पुलिस १४
२०६९ – आर्मी ११
२०७० – आर्मी ४
२०७५ – आर्मी ७
२०७६ – आर्मी ४