काठमाडौं । सातौं चरणको अन्तिम खेलमा बलियो मानिएको च्यासल युथलाई पराजित गर्दै आर्मीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनायो ।
तर, आठौं चरणको अन्तिम खेलसम्म आईपुग्दा आर्मीसँग दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले अंक बराबरी छन् ।
मछिन्द्र र मनाङसहित तीन टिमको समान १६ अंक भएपनि आर्मी पहिलो स्थानमा रहेको छ । आर्मीले अझ एक खेल खेल्न बाँकी रहेको छ ।
आठौं चरणको अन्तिम दिन शनिबार आर्मीले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
यस्तोमा एनआरटीलाई पराजित गर्दै आर्मीलाई शीर्ष स्थानमा ३ अंकको अग्रता लिने मौका रहेको छ ।
आर्मीका प्रशिक्षक नविन न्यौपाने शीर्ष स्थानमा ३ अंकलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने बताउँछन् ।
‘शीर्ष स्थानमा ३ अंक अग्रता रहेको छ । एनआरटीविरुद्ध त्यसलाई निरन्तरता दिन्छौं,’ न्यौपाने भन्छन् ।
एनआरटीविरुद्ध आर्मीका डिफेन्डर विकाश तामाङ दोस्रो पहेलो कार्डका कारण मैदानमा हुने छैनन् । तर, उनको स्थानमा अघिल्लो खेल गुमाएका युद्ध शाहीले पुनरागमन गर्ने छन् ।
यता, एनआरटी बलियो आर्मीविरुद्ध उत्कृष्ट खेल खेल्दै अंक हात पार्ने लक्ष्यमा हुनेछ ।
‘आर्मी बलियो छ । राम्रो गरिरहेको छ । हामी आफ्नो खेल खेल्दै अंक लिन्छौं,’ एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भन्छन् ।
लिगमा ७ खेल खेलेको आर्मीको १६ अंक रहेको छ । आर्मीले ५ जित, १ बराबर र १ खेलमा हर व्यहोरेको छ ।
लिगको ७ खेलमा ११ अंक जोडेको एनआरटी तालिकाको छैटौं स्थानमा रहेको छ ।
गत सिजनको खराब प्रदर्शनले एनआरटीले यस पटक सुरुमै दुई अंक गुमाउन पुगेको छ । ४ जित, १ बराबर र २ हार व्यहोरेको एनआरटी आर्मीलाई पराजित गरे तालिकाको पाचौं स्थानमा उक्नले छ ।