पोखरा । इंग्ल्यान्ड फुटबल एसोसिएसनका पदाधिकारी तथा इंग्ल्यान्ड नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्स र सहारा युकेका पदाधिकारीहरूले पोखरामा रहेको सहारा एकेडेमीको भ्रमण गरेका छन् ।
नेपाल भ्रमणमा रहेका जोन्ससहित सहारा युकेका पदाधिकारीले शुक्रबार एकेडमीको अवलोकन गरेका हुन् ।
नेपाल आएका लाउरेन्सले सहारा एकेडेमीको अवलोकन गर्दै फुटबल विकासको लागि सहारा एकेडेमीले गरेको कार्य निकै प्रशंसा योग्य रहेको बताए ।

यस्तै एकेडेमीको अवलोकन गर्दा निकै रमाइलो लागेको बताउदैँ उनले इंग्ल्यान्ड फर्किएपछि आफुले पनि एकेडेमीको लागि सक्दो सहयोग गर्ने बताए ।
सहारा युकेका महासचिव धनु थकालीले सहारा युके र सहारा एकेडेमीको सम्बन्धको बारेमा र सहारा युकेले कसरी भुमिका खेलेको छ भन्नेबारेमा प्रष्ट पारे ।
सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले सहारा एकेडेमी फुटबलको विकासमा निकै महत्वपुर्ण भुमिका खेल्ने संस्था रहेका बताए ।
सोहि अवसरमा सहारा एकेडेमीलाई सर्पोट नेपाल युकेको प्रतिनिधित्व गर्दै गुरुङले नगद ५० हजार रुपैँया सहयोग गरे । त्यस्तै सहारा युकेका कोषध्यक्ष प्रकाश गुरुङले पनि एकेडेमीलाई ५० हजार रुपैँया सहयोग गरेका छन ।
उक्त कार्यक्रममा फिफाले बनाएको एकेडेमीको डकुमेन्ट्री समेत देखाइएको थियो । एकेडेमीमा हाल १२ जिल्लका २४ जना बालकहरु रहेका छन् ।
