काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले थप गरिएको इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
डिबक्सभित्र ब्रिगेडका डिफेन्डरले बल क्लियर गर्न नसकेको बललाई सन्तोषले जाली चुमाएका थिए ।
यस अघि पहिलो हाफमा दुवै टोलीले गोलको अवसर चुकाएका थिए । खेलको ६५ औं मिनेटमा सुनिल खड्काको कडा प्रहार ब्रिगेडका विशाल सुनारले उत्कृष्ट बचाउँ गर्दा च्यासल अग्रता बनाउन चुकेका थिए ।
पहिलो हाफको तुलनामा च्यासलले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । ब्रिगेडले भने डिफेन्सिभ खेल खेलेको थियो ।
खेलमा च्यासलका नाकामुरा म्यान अफ दि म्याच चुनिए ।
जितसँगै च्यासल ८ खेलमा ९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । ब्रिगेड ८ खेलमा ८ अंकसहित दशौँ स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले ब्रिगेडविरुद्ध टिम जितका लागि हकदार रहेको बताए ।
'हामी जितको हकदार थियौं । अंक आयो । खुसी छौँ । अब सुधार गरेर दबाब बिना खेल्नेछौँ । टप सिक्सको लागि खेल्छौ,' साहुखलले भने ।
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङले डिफेन्सिभ खेलेर अंक जोड्ने टिमको लक्ष्य पुरा नभएको बताए ।
'राम्रो खेलेर अन्तिम समयमा गोल खायौं । डिफेन्सिभ खेलेर एक अंकको ल्याउने सोच पुरा भएन । हामी अझै टप सिक्सकै लागि खेल्छौ,' गुरुङले भने ।
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने, हेमन्त थापा,सन्तोष साहुखल,छिरिङ गुरुङ, अविशेक लिम्बु,नितिन थापा, हायातो वाकिनो,ताइगा नाकामुरा,मुहमद आसिफ,सुनिल खड्का, बिक्रम लिम्बु
ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ,जया गुरुङ,मनोज राई,पदम भट्टराई,रोशन राना मगर,रन्दिप पौडेल,विजय गुरुङ,विशाल सुनार,मोहमद सौकात,ऋतिक कुमार खड्का, जर्ज बिनसेन्ट