काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले साँघुरो जित निकालेको छ ।
शुक्र्बे भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे ।
खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो ।
त्यसअघि मनाङले पहिलो हाफमा गोल गरेपनि पोस्टको जाली प्वाल परेको कारण गोलको मान्यता पाएँन ।
खेलको १५ औं मिनेटमा निशान लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । तर, निशानको पावरफुल सटको कारण बल पोस्टको जालीबाट बाहिर निस्किएको थियो ।
पोस्टको जाली प्वाल परेको कारण बल जालीबाट बाहिर निस्किएपछि रेफ्री श्याम दनुवारले त्यसलाई गोलको मान्यता दिएनन् । त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए ।

यस्तै खेलको ५६ औं मिनेटमा मनाङका कमल श्रेष्ठको फ्रिकिक सरस्वतीका गोलकिपर प्रदिप भण्डारीले पन्च गर्दै बाहिर पठाएका थिए । यस्तै ६५ औं मिनेटमा विमलको कडा प्रहार सरस्वतीका किपर प्रदिपले बचाउँदा मनाङ फराकिलो जित निकाल्नबाट चुकेको थियो ।
सरस्वतीमाथि संघर्षपूर्ण जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । तर, मनाङ गोल अन्तरको आधारमा लिगको तेस्रो स्थानमा रहेको छ ।
आर्मी ७ खेलमा १६ अंक जोडेर शिर्ष स्थानमा रहदा मछिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले खेलाडीले सोचेको जस्तो खेल्न नसकेको बताए ।
'खेलमा सोचेजस्तो जित भयो तर खेलाडीले सोचेजस्तो खेल्न सकेन । दोस्रो हाफमा राम्रो भयो । पहिलो हाफमा खराब खेल्दा कठिन भयो,' उनले भने ।
यस्तै प्रशिक्षक प्रजापति रेफ्रीको निर्णयमा अचम्मित भएको बताए ।
'अचम्ममा छौँ । गोललाई अफसाइड भयो भन्यो । रेफ्रीको निर्णयलाई के भन्नु । रेफ्रीलाई कम्प्लेन गरेका छौँ,' उनले थप ।
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले पाएको अवसरमा गोल नहुँदा पराजित भएको बताए ।
'खेल राम्रो भयो । पहिलो हाफमा दबाब दियौ । दोस्रो हाफमा सिल्ली गोल खादा गाह्रो भयो । स्ट्राइकरले पाएको अवसरलाई गोल गर्न सकेनन्,' उनले भने, 'शीर्ष डिभिजनमा टिक्न कोशिश गर्छौ ।'
मनाङ प्लेईङ सेट -
कमल श्रेष्ठ,सुरज विश्वकर्मा,फ्लोरेन्ट कोने, दिप कार्की, दयानन्द सिंह,निशान लिम्बु, सरोज थापा,रन्जन बिष्ट, अन्जन बिष्ट,विमल राना,भिदाल लुइस
सरस्वती प्लेईङ सेट -
एमबेइ आन्द्रे,दिपेश श्रेष्ठ,प्रदिप भण्डारी,पूर्ण बहादुर श्रेष्ठ,सुशन लामा,मनिष थापा,काजिम बुशारी,कृष्ण रानाभाट,बर्सात गुरुङ,विनोद केसी, निशान माझी