धनगढी । पाँचौ संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेबाट सुरु हुने भएको छ ।
आयोजक फारवेष्ट पशुपति युवा क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १७ देखि २५ गतेसम्म हुने जनाएको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहने छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहने भएको छ । प्रतियोगिताको पाँचौं संस्करणको नाम हाईलेण्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ ।
प्रायोजन सम्बन्धी सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबा तर्फबाट अध्यक्ष खेम रावत र हाईलेण्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाईलेण्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले हस्ताक्षर गरे।
यस्तै प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेजसँग पनि सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एडभेन्चर वेष्ट होलिडेजका सिईओ दिपक बमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।