काठमाडौं । ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो ।
थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए ।
तुलनात्मक कमजोर टिम शेर्पाविरुद्ध खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाएका थिए ।
भारतीय खेलाडी लालरम्मावियाले उपलब्ध गराएको पासमा शेर्पाका डिफेन्डरले क्लियर गर्न नसक्दा शुसिलले गोल गरे ।
पहिलो हाफमा थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १-१ को बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलो हाफमा थ्री स्टार २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा निशान खड्काको पासमा शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै हाजमतले उत्कृष्ट गोल गर्दा थ्री स्टारले ३-१ को सहज जित निकाल्यो ।
खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ ।
शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
शेर्पालाई पराजित गरेपनि थ्री स्टारका प्रशिक्षक मेघराज केसी खुशी देखिएनन् ।
'खेलमा खासै रौनक थिएन । निरश जस्तै भयो । तीन अंक आयो । तर, बढी गल्ति भयो । खेलको कमि कमजोर सुधार गर्नुपर्छ । प्रदर्शन उच्च छैन, ' प्रशिक्षक केसीले भने, 'एकै किसिमको खेल खेल्न सकेका छैटौं । सुधार गर्नुपर्ने धेरै छ । आफ्नो प्रदर्शन मात्रै हैन अर्काको पनि हेर्नुपर्छ ।'
शेर्पका प्रशिक्षक संजिब बुढाथोकीले खेल सोचेको जस्तो नभएको बताए ।
'जे सोचेको त्यो भएन । अनुशासित गेम भएन । खेलाडीले पाएको कर्तव्यमा खेलेनन्,' उनले भने, 'थ्री स्टारले पनि राम्रो खेलेन । पहिलो हाफ ठिकै भयो । दोस्रो हाफ झुर भयो ।'
सन्जिबले प्रशिक्षक भन्दा खेलाडी बढी जान्ने बन्दा खेल बिग्रिएको बताए ।
'स्कोर निकाल्ने मौका थियो। तर, प्रशिक्षक भन्दा भन्दा खेलाडी जान्ने भए । अरुबेला खेलाडी भनेको मान्दथे आज मानेनन् । खै के भयो । अब अर्को गेममा सेट चेन्ज गर्छौ,' उनले भने ।
थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, सन्जोग राई,बिक्रम लामा,निशान खड्का,प्रिसो,ओलानडिरन हाजमत,लालरम्माविया,रुपेश केसी,एर्नोसो,सुशिल राई, अशोक खवास
शेर्पा प्लेईङ सेट -
किशोर गिरि,मान बहादुर तामाङ,निरज बस्नेत,त्रिदेब गुरुङ,रबि थापा मगर, आशिष गुरुङ,विनोद गुरुङ, स्टेफेन समिर,सुरज हमाल,कमल थापा मगर, उल्रीच सिवी