काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि शानदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासललाई ३-० गोल अन्तरले हराएको हो ।
लिग लिडर आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
पहिलो हाफमा दबाबमा खेलेको आर्मीले दोस्रो हाफको सुरुवातमै अग्रता बनायो । खेलको ५८ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । मैदानको मध्येभागबाट प्राप्त बललाई राष्ट्रिय टिमका स्ट्राइकर समेत रहेका भरतले पोस्टको दिशा दिए । गोलरक्षक एलेन न्यौपानेसँग वान भर्सेस वानको स्थितिमा भरतले सहजै गोल गरे ।
खेलको ७३ औं मिनेटमा आर्मीले दोस्रो गोल गर्यो । दोस्रो गोल नवयुगको नाममा रह्यो । काउन्टरमा कप्तान भरतले आफ्नो डिबक्स एरियाबाट प्राप्त बललाई दिनेश हेम्जनलाई उपलब्ध गराए । दिनेशले मैदानको डिबक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलरक्षक एलेनले पन्च गरेको रिबाउण्ड बललाई नवयुगले सहजै गोल गरे ।
खेलको ८५ औं मिनेटमा आर्मीले अग्रता तेब्बर बनायो । आफ्नो डिबक्स भित्र नवयुगलाई च्यासलका छिरिङ गुरुङले फउल गरेपछी आर्मीले पेनाल्टीको अवसर पाएको थियो । जसमा सन्तोषले सहजै गोल गरे ।
त्यसपछि खेलको अतिरिक्त समयमा भने आर्मीले थप एक गोल गर्ने मौका गुमाएको थियो । च्यासलका डिफेन्डर छिरिङले डिबक्सभित्र दिनेशलाई लडाएपछि प्राप्त पेनाल्टीमा नवयुग गोल गर्न चुके । उनको प्रहार पहिलो बारमा लागेर फर्किएको थियो ।
खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।
जितसँगै आर्मीले लिगमा स्पष्ट ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा १६ अंक जोडेको छ ।
दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको ७ खेलमा १३ अंक रहेको छ ।
लिगमा च्यासलको यो तेस्रो हार हो । च्यासलले ७ खेलमा ६ अंक जोडेको छ । च्यासल लिगको १२ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
च्यासलका प्रशिक्षक बाल गोपालले दोस्रो हाफमा खेल्न नसक्दा पराजित भएको बताए ।
'आर्मीले राम्रो खेल्यो तर हाम्रो टिममा धेरै समस्या छ । टिम एक जनामा निर्भर हुँदा गाह्रो भयो । पहिलो हाफमा हामीले दबाब दियौं । दोस्रो हाफमा दिन सकेनौ,' उनले भने, 'रिजल्ट नआउदा तनाब भयो । यस्तो खेलले हामीलाई गार्हो हुन्छ । अबका सबै खेल कठिन छ ।'
जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा सोचेको जस्तो खेल्न नसकेको बताए ।
'पहिलो हाफमा केही नराम्रो भयो । मौषमले गर्दा पनि गाह्रो भयो । पहिलो हाफमा खेल्न सकेनौ,' उनले भने, 'अग्रता लिएपछी खेल्न सजिलो भयो । काउन्टरमा गोल हुदा झनै सहज भयो ।'
यस्तै प्रशिक्षक न्यौपानेले च्यासलसँगको जित आर्मीको खेलकुद केन्द्रको केन्द्रपती शशी किरण रायमाझीको जन्म दिनलाई उपहार स्वरूप समर्पण गरेको बताए ।
खेलमा म्यान अफ दि म्याच बनेका आर्मीका कप्तान भरतले अबको खेलमा कमजोरी सुधार गर्दै लिग जित्नेमा केन्द्रित हुने बताए ।
'टिमको लागि गोल गर्दा खुसी छु । अब हामीले कमीकमजोरी सुधार गर्दै लिग जित्न लाग्छौ,' उनले भने ।
आर्मी प्लेईङ सेट -
भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की,विकास तामाङ, विकास खवास, दिपक गुरुङ, सुमन अर्याल,दिनेश हेन्जन, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, विकेश कुथु
च्यासलको प्लेईङ सेट -
एलेन न्यौपाने, पूर्ण बहादुर गुरुङ, हेमन्त थापा मगर, सन्तोष शाहुखल, छिरिङ गुरुङ, नितिन थापा, सुनिल बल, अविशेक लिम्बु,बिक्रम लिम्बु, थाइगा नाकामुरा , नरेन्द्र चौधरी