काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङदी क्लबलाई सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले प्रायोजन गरेको छ ।
कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङलाई आयल निगमले एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो । आयल निगम र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
निगम कार्यकारी निर्देशक सुरेद्र कुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रायोजन सम्झौतासँगै मनाङलाई आयल निगमले एक वर्षको लागि ३५ लाख उपलब्ध गराउने छ । मनाङको लागि यो हालसम्मकै सर्वाधिक ठुलो प्रायोजन हो ।
मनाङले एक वर्षसम्म नेपाल आयल निगमको लोगो र नाम अंकित जर्सी प्रयोग गर्ने छ । मनाङले शनिबार भएको थ्री स्टारविरुद्धको खेलमानिगमको लोगो र नाम अंकित जर्सी प्रयोग गरेको थियो । उक्त खेलमा मनाङ र थ्रीस्टारले २–२ को बराबरी खेलेका थिए ।
सम्झौतापछि बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले यस प्रायोजनले नेपाली फुटबल विकासको लागि योगदान पुग्ने बताए ।
'यो सुरुवात हो । अब निगमले नेपाली फुटबमा योगदान गर्नेछ । मनाङको मात्रै नभएर नेपाली फुटबलको लागि पनि हो यो,' पौडेलले भने, 'यस अघि आर्थिक स्थिति बलियो नहुदा हामी खेलकुदबाट बाहिर रह्यौ । अबका दिनमा खेलकुदमा हुन्छौ । मनाङसँग जोडिन पाउँदा निगम परिवार खुसी छौँ ।'
यस्तै क्लबका अध्यक्ष गुरुङले सम्झौताले नेपाली फुटबलले पुनर्जीवन पाएको अनुभव भएको बताए ।
' ४० काे दशकमा खेलकुदमा ठुलाे लगानी गरेका थिए त्यसकाे सुरूवात आयल निगमले गरेकाे छ । नेपाली फुटबलले पुर्नजीवन पाए जस्ताे महसुस गरेकाे छु,' अध्यक्ष गुरुङले भने, 'यसकाे लागि निगमलाई धन्यवाद । उहाहरुको लगानी खेर जादैन ।'

निगमको प्रायोजनसँगै मनाङ 'ए' डिभिजन लिगको १४ क्लबमध्ये सरकारी स्वामित्वको प्रायोजन पाउने दोस्रो क्लब बनेको छ । यस अघि नेपाल टेलिकमले विभागीय नेपाल पुलिस क्लबलाई प्रायोजन गर्दै आईरहेको छ ।
यस अघि सिग्नेचर रक्सीको साथ पाएपनि मनाङले एएफसी कपमा भने त्याग्नु परेको थियो । एसियाली फुटबल महासंघ एएफसीले मादक पदार्थलाई प्रायोजन नदिने बताएपछि मनाङले अन्तिम दुई छनोट खेलमा सिग्नेचरको लोगो अंकित जर्सी हटाउनु परेको थियो ।
त्यस अघि मनाङलाई करिब एक दशक काल्सवर्ग वियर, लक्ष्मी हुन्डाईले ६ वर्ष र सिग्नेचरले १ वर्षको प्रायोजन गरेको थियो ।
जारी लिगमा अपराजित रहेको मनाङले ७ खेलबाट १३ अंक जोडेको छ । ३ जित र ४ बराबर गरेको मनाङ समान अंक भएपनि आर्मी र मछिन्द्रसँग गोल अन्तरले पछि पर्दा तेस्रो स्थानमा रहेको छ ।
क्लबको स्थापना भएको तेस्रो वर्षमै 'ए' डिभिजन लिगमा बढुवा भएको मनाङले पहिलो पटक बिस २०४३, ४४ र ४६ सालमा लगातार तेस्रो पटक लिगको उपाधि जितेको थियो । त्यसपछि ५७ र ६० सालमा लगातार लिगको उपाधि जित्दा ६२ सालमा मनाङले छैटौं पटक लिगको उपाधि जितेको थियो । यस्तै बिस २०७० र ७५ सालमा लिग जित्दै मनाङले कीर्तिमानी आठौं पटक लिग आफ्नो बनाएको थियो ।
