एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार दुई ठुला क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । लिभरपुलको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।
एनफिल्डमा मैदान उत्रदा लिग लिडर लिभरपुल आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । लिगमा अपराजित रहने लिभरपुल एक्लो टिम हो ।
२१ खेलमा २० जित र १ बराबरी खेलेको लिभरपुलले ६१ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले अघि रहेको छ ।
तर, बलियो टिम युनाइटेडविरुद्ध लिभरपुल शतर्क रहने छ । किनकी यस सिजनको पहिलो भेटमा लिभरपुलले युनाइटेडसँग नै बराबरी खेलेको थियो । युनाइटेडको मैदानमा गत अक्टोबरमा भएको भेटमा दुई टिमबीच १-१ गोलको बराबरी भएको थियो ।
यता, युनाइटेड लिभरपुललाई पहिलो हार चखाउने योजनामा हुनेछ । लिगको पाँचौं स्थानको युनाइटेड लिभरपुलविरुद्ध जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा सकेट हुनेछ ।
युनाइटेडले २२ खेलमा ३४ अंक जोडेको छ ।
लिग अन्तर्गत अर्को खेलमा लेष्टर सिटीले बर्नलीसँग खेल्नेछ ।