काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले पुछारको क्लब सरस्वती युथ क्लबलाई ४-१ गोल अन्तरले हराएको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे ।
सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए ।

प्रतियोगिताकै कमजोर देखिएको सरस्वतीविरुद्ध फ्रेन्ड्सले पाँचौं मिनेटमा उत्तमको गोलबाट अग्रता बनाएको थियो । ब्राजिलियन खेलाडी कार्मोले डिबक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका भारतीय खेलाडी उत्तमले सहजै गोल गरे ।
खेलको २४ औं मिनेटमा फ्रेन्ड्सले अग्रता दोब्बर बनायो । ब्राजिलियन फिलिपे डी सौजाको फ्रिकिक पासमा अर्को ब्राजिलियन साउलोले हेड गोल गर्दै फ्रेन्ड्सको अग्रता २-० को बनाए ।
दोस्रो हाफमा पनि फ्रेन्ड्सले गोलको क्रमलाई निरन्तरता दियो । खेलको ७० औं मिनेटमा उत्तमको पासमा कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता ३-० को बनाए । लिगमा उनको यो दोस्रो गोल हो ।

८० औं मिनेटमा सरस्वतीका बुसारीले हेड गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । तर, ८६ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को सहज जित दिलाए । जारी लिगमा उत्तमको यो तेस्रो गोल हो ।
सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ। जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ ।
सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ ।

के भन्छन् प्रशिक्षक ?
फ्रेन्ड्सका प्रशिक्षक मार्कुस फिलिपे खेलाडीको प्रदर्शनबाट खुशी देखिए ।
'धेरै खुसी छु । खेलाडीको प्रदर्शन धेरै राम्रो भयो । हरेक खेलमा राम्रो हुँदै गएको छ,' उनले भने ।
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले यस खेल लिग मध्येकै खराब खेल भएको बताए ।
'खेल निकै झुर भयो । लिग मध्येकै । पहिलो गोल लाइन्समेनको गल्तीले गर्दा भयो ।दबाब रहेको खेलमा गर्दा गार्हो भयो,' उनले भने, 'अझै ६ खेल बाँकि छ । रेलिगेसनबाट जोगिन्छौँ । अझै मौका छ ।'

फ्रेन्ड्स प्लेईङ सेट -
वाग्नेर डो कार्मो, उत्तम राई,सुरज गुरुङ, विश्व अधिकारी,देव लिम्बु,रमेश बर्तौला,सरोज योञ्जन लामा,यादु सिलवाल,निशेन सुब्बा,फिलिपे डी सौजा, साउलो डी अक्विनो
सरस्वती प्लेईङ सेट -
दिपेश श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ,प्रदिप भण्डारी,सुशन लामा,रमेश तामाङ,विनोद केसी,मनिष थापा,दिपक भुषाल,पूर्ण बहादुर श्रेष्ठ,एमबि आन्द्रे,कजिम बुसारी
