काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाईज क्लबले भारतीय डिफेन्डर अनुबन्ध गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिगको लागि दक्षिण एसियाली कोटामा ब्रिगेडले भारतका डिफेन्डर मोहम्मद सौकातलाई अनुबन्ध गरेको हो ।
ब्रिगेडका टिम म्यानेजर अर्विन गुरुङले सौकातलाई यस सिजनको लिगका लागि अनुबन्ध गरेको खेलपाटीलाई बताए ।
‘हामीले यस लिगकै लागि भारतीय डिफेन्डर सौकातलाई अनुबन्ध गरेका छौं,’ उनले भने । सम्झौताको बारेमा भने केहि खुलाईएको छैन ।
जारी लिगमा एक टिमबाट ४ विदेशी खेलाडी ‘प्लेईङ सेट’ मा खेलाउन पाइने छ । तर, ४ विदेशी खेलाडीमा एक दक्षिण एसियाली खेलाडी अनिवार्य गरिएको थियो ।
जस अन्तर्गत ब्रिगेडले भारतको कोलकत्ता प्रिमियर लिग खेल्दै आएका सौकातलाई भित्र्याएको हो । सौकात विएसएस स्पोर्टिङ क्लबबाट लिग खेल्दै आईरहेका थिए ।
सौकातको आगमनसँगै ब्रिगेडले आगामी खेलहरुमा चार वटै विदेशी खेलाडी खेलाउने छ ।
अनिलको कप्तानीमा रहेका ब्रिगेडमा यस सिजन यू-१९ राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ । जसमा कप्तान अनिल, विजय गुरुङ र उत्तम गुरुङ मात्रै अनुभवी खेलाडी छन् ।
लिगको ६ खेल खेलेको ब्रिगेडले २ खेलमा जित, ३ खेलमा हार र एक खेलमा बराबर गरेको छ । ७ अंक जोडेको ब्रिगेड नवौं स्थानमा रहेको छ ।
ब्रिगेडले मंगलबार संकटा क्लबको सामना गर्दैछ ।