काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ ।
आइतबार भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे ।
एपीएफका आशिष लामाले दुई गोल फर्काए ।
रोमान्चक बनेको खेलमा आन्द्रेले २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा एपीएफले अग्रता बनायो । खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३-२ को रोमान्चक जित दिलाए ।
खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ ।
एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले जित्नै पर्ने खेलमा तीन अंक आएकोमा खुशी देखिए ।
राम्रो खेल भयो । जित्नुपर्ने थियो । सानो गल्तीले गर्दा दुई गोल खायौं । जसले आज हाम्रो दिन छैन की जस्तो लागेको थियो,' उनले भने, 'खेल रमाईलो भयो । हाम्रो लक्ष्य सुपर सिक्स हो । धेरै माथि सोचेका छैनौं ।'
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले राम्रो नखेल्दा रेलिगेसनबाट बच्न नै संघर्ष गर्नु पर्ने अवस्था आएको बताए ।
'खेलाडीले जित्न खेल्नु पर्ने हो तर त्यति खेलेनन् । खेलाडीले दिमाग लगाएर नखेल्दा गाह्रो भयो,' उनले भने, 'अग्रता बनाउदा पनि खेलाडीले बुझेनन् । विदेशी खेलाडीसँग खेलाडीले खेल्न सकेनन् । हामी रेलिगेशन क्षेत्रमा छौँ । अब कसरी बच्ने भन्ने तिर लाग्छौं ।'

एपीएफ प्लेईङ सेट -
अमृत चौधरी,नविन लामा,विश्वास उदास, सन्तोष कटवाल,आशिष लामा,राजन गुरुङ,बुद्धिमान राई,प्रकाश पुन, युवराज खड्का,रबी थिङ
एनआरटी प्लेईङ सेट -
एरिक बिष्ट,राजेश परियार,प्रकाश बुढाथोकी,अजित प्रजापति,नविन गुरुङ,सकल रेग्मी,दर्शन गुरुङ,सरोज तामाङ, आन्द्रे थेरी,जोर्डन एनडेम्बा, क्रिषण कुमार