काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङदी क्लबलाई सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले प्रायोजन गर्ने भएको छ ।
कीर्तिमानी आठौं पटक च्याम्पियन मनाङसँग आयल निगम मुख्य प्रायोजकको रुपमा जोडिने भएको हो ।
पछिल्लो समय घरेलु फुटबलमा एक छत्र राज गरिरहेको मनाङले सोमबार आयल निगमसँग औपचारिक रुपमा सम्झौता गर्नेछ ।
सम्झौता सुरुवातमा एक वर्षको लागि हुने र पछि थपिदै जाने मनाङका ब्यवस्थापक कुमार भट्टराईले खेलपाटीलाई जानकारी गराए ।
‘सम्झौता लामै हुन्छ । तर, अहिले हामीले सुरुवाती एक वर्षको लागि गर्दैछौं,’ भट्टराईले भने ।
प्रायोजन सम्झौताको रकम भने औपचारिक सम्झौता भएको दिन खुलाईने छ ।
औपचारिक सम्झौता नहुँदै मनाङले नेपाल आयल निगमको लोगो र नाम अंकित जर्सी प्रयोग गर्न थालिसकेको छ । मनाङले शनिबार भएको थ्री स्टारविरुद्धको खेलमानिगमको लोगो र नाम अंकित जर्सी प्रयोग गरेको थियो । उक्त खेलमा मनाङ र थ्रीस्टारले २–२ को बराबरी खेलेका थिए ।

निगमको प्रायोजनसँगै मनाङ 'ए' डिभिजन लिगको १४ क्लबमध्ये सरकारी स्वामित्वको प्रायोजन पाउने दोस्रो क्लब बन्नेछ । यस अघि नेपाल टेलिकमले विभागीय नेपाल पुलिस क्लबलाई प्रायोजन गर्दै आईरहेको छ ।
यस अघि सिग्नेचर रक्सीको साथ पाएपनि मनाङले एएफसी कपमा भने त्याग्नु परेको थियो । एसियाली फुटबल महासंघ एएफसीले मादक पदार्थलाई प्रायोजन नदिने बताएपछि मनाङले अन्तिम दुई छनोट खेलमा सिग्नेचरको लोगो अंकित जर्सी हटाउनु परेको थियो ।
त्यस अघि मनाङलाई करिब एक दशक काल्सवर्ग वियर, लक्ष्मी हुन्डाईले ६ वर्ष र सिग्नेचरले १ वर्षको प्रायोजन गरेको थियो ।
जारी लिगमा अपराजित रहेको मनाङले ७ खेलबाट १३ अंक जोडेको छ । ३ जित र ४ बराबर गरेको मनाङ समान अंक भएपनि आर्मी र मछिन्द्रसँग गोल अन्तरले पछि पर्दा तेस्रो स्थानमा रहेको छ ।
क्लबको स्थापना भएको तेस्रो वर्षमै 'ए' डिभिजन लिगमा बढुवा भएको मनाङले पहिलो पटक बिस २०४३, ४४ र ४६ सालमा लगातार तेस्रो पटक लिगको उपाधि जितेको थियो । त्यसपछि ५७ र ६० सालमा लगातार लिगको उपाधि जित्दा ६२ सालमा मनाङले छैटौं पटक लिगको उपाधि जितेको थियो । यस्तै बिस २०७० र ७५ सालमा लिग जित्दै मनाङले कीर्तिमानी आठौं पटक लिग आफ्नो बनाएको थियो ।
गत सिजन लिग च्याम्पियन बनाउन र एएफसी कप छनोट खेलेका ९ खेलाडीले टिम छाडेपनि मनाङ उपाधि होडमै रहेको छ । यस सिजन करिब एक दशक मनाङमा बिताएका सुजल श्रेष्ठसहित विशाल श्रेष्ठ, विशाल राई, कप्तान विराज महर्जन, दिपक राई, सुर्य अधिकारी, विदेशी खेलाडी एडेलाजा सोमिडे र एएफसी कप खेलेका अभिषेक रिजाल र देवेन्द्र तामाङले टिम छोडेका हुन् । मनाङ छाडेका ९ खेलाडी मछिन्द्र पुगेका छन् ।