काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय टिमका गोलरक्षक अर्पण कार्की रहेको जे जे स्पोर्ट्स क्लबले माल्दिभ्सको दोस्रो डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
मालेमा बुधबार भएको पहिलो खेलमा जे जे स्पोर्ट्सले धिभिही सिफैन्गे क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमै अर्पण जे जे स्पोर्ट्सको पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका थिए । लिगका लागि अर्पण आइतबार माल्दिभ्स गएका थिए ।
अर्पणले जे जे स्पोर्ट्सबाट लगातार दोस्रो सिजन खेलिरहेको हो । गत सिजन पनि अर्पणले जे जे स्पोर्ट्सबाटै खेलेका थिए ।
माल्दिभ्सकै लिगका लागि अर्पणले सहिद स्मारक 'ए' डिभिजन लिग खेलेनन् । माल्दिभ्सको क्लबसँग सम्झौता भएसँगै उनले नेपाली क्लबसँग सम्झौता नगरेका हुन । अर्पणले गत सिजन नेपाल पुलिस क्लबबाट लिग खेलेका थिए । लगतै उनले पारो एफसीबाट भुटानी लिग खेलेका थिए ।
अर्पणको टिम जे जे स्पोर्ट्स गत सिजनको उपबिजेता टिम हो । तर, एक मात्रै टिम बढुवा हुने भएपछी जे जे स्पोर्ट्स दोस्रो डिभिजनमै रहेको हो । यस सिजन भने २ टिम बढुवा हुने बताएको छ ।
माल्दिभ्सको दोस्रो डिभिजनको लिगमा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।