काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो ।
खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट डाइभ हेड गोल गरेका थिए । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो ।
तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले लियो ।

आर्मी १० खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै संकटा बराबरी फर्काउन सफल भयो । खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए ।
आर्मीका सुमन लामाले आफ्नो डिबक्स भित्र ह्याण्डबल गरेपछि संकटाले पेनाल्टी पाएको थियो । जसमा अमित चुकेनन् ।
खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दि म्याच चुनिए ।
संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।
समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ ।
संकटाले ६ खेलमा ८ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले रेफ्रीको कारण हार व्यहोर्नु परेको बताए ।
'आधुनिक फुटबलमा जसरी हामीले खेल्नु पर्ने थियो त्यसमा हामी सफल भएका थियौं । तर, मुख्य कुरा रेफ्रीको निर्णय एकतर्फी देखियो । यो स्तरको ठुलो खेलमा परिपक्क रेफ्रीहरु राख्नु पर्छ । १० खेलाडीमा हुँदा पनि बराबरी खेल्यौं सफल भयौं,' न्यौपानेले भने ।
संकटाका प्रशिक्षक विजय महर्जनले जित्ने लक्ष्यसहित मैदान उत्रिएको तर एक अंक आउँदा खुसी नै रहेको बताए ।
'हाम्रो लक्ष्य जित्ने थियो । तर, बराबरी भयो । एक गोलले पछि परेपनि बराबरी खेल्दा सन्तुष्ट छु,' उनले भने ।

आर्मी प्लेईङ सेट -
नवयुग श्रेष्ठ, सेसेहाङ आङदेम्बे, विकास खवास, टेक बहादुर बुढाथोकी, दिपक गुरुङ, सुमन अर्याल,विकेश कुथु, युद्ध शाही,दिनेश हेन्जन, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ
संकटा प्लेईङ सेट -
अमित तामाङ, अर्नेष्ट टेम्पी, लक्ष्मण रुचाल,मासौके, सरोज दाहाल,सुबास गुरुङ, विनय श्रेष्ठ,राजेन्द्र रावल,अजयी मार्टिन्स, कर्ण लिम्बु, बिष्णु सुनार