एजेन्सी । चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले आक्रमक मिडफिल्डर पेड्रोलाई बेच्ने कुनै योजना नरहेको बताएका हुन् ।
उनी जनवरी विन्डोमा पेड्रो बिक्रीमा नभएको समेत प्रष्ट पारेका छन् ।
'उनी मेरो योजनामा छन् ।' लाम्पार्डले भनेका छन्, 'उनी बिक्रीको सूचिमा छैनन् ।'
उनले प्रिमियर लिगको आगामी खेलमा पेड्रोले धेरै अवसर पाउने समेत उल्लेख गरेका छन् ।
पेड्रो पछिल्लो समय बार्सिलोना फर्कनेसंगै एमएलएस क्लब न्युयोर्क सिटी र ईन्टर मियामीसंग जोडिएका छन् ।
न्युयोर्क क्लब म्यान्चेष्टर सिटीको लगानी रहेको क्लब हो । भने मियामी क्लबका मालिक डेबिड बेकह्याम हुन् ।
३२ बर्षका पेड्रोले यस सिजन मात्र ११ खेलमा अवसर पाएका छन् । उनको ६ महिनापछि क्लबसंगको सम्झौता सकिदै छ ।
तर चेल्सी प्रशिक्षक लाम्पार्ड पेड्रोलाई क्लबमा राख्दै महत्वपुर्ण भूमिकामा प्रस्तुत गर्न चाहन्छन् । क्रिस्टियन पुलिसिकल चोट बोकेपछि पेड्रोलाई लिएर लाम्पार्ड अझ गम्भिर देखिएका छन् ।
'उनी मेरो योजनामा छन् । मैले सिजन सुरु गर्दै गर्दा उनी टिममा थिए । दुर्भाग्य रुपमा उनले चोट बोके । सोही कारण मैले परिवर्तन गर्न पर्यो ।' उनले भने, 'उनी केही समय मैदान बाहिर रहे । उनी खेल्ने स्थानमा प्रतिस्पर्धा छ ।'
'मलाई थाहा छ, उनी खेल्न चाहन्छन् । मैले त्यो बुझेको छु । हामी उनको अनुभव टिममा मिसाउन चाहन्छौ । उनको क्षमतालाई जोड्न चाहन्छौ ।' लाम्पार्डले थपे ।