काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय टिमका गोलरक्षक अर्पण कार्कीले पुनः माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन् ।
यसै साता सुरु हुने दोस्रो डिभिजनको लिगमा अर्पणले जे जे स्पोर्ट्स क्लबबाट खेल्नेछन् । गत सिजन पनि अर्पणले जे जे स्पोर्ट्सबाटै खेलेका थिए ।
'यस सिजन पनि माल्दिभ्सको दोस्रो डिभिजनको लिग जे जे स्पोर्ट्सबाटै खेल्ने भएको छु,' अर्पणले खेलपाटीसँग भने ।
माल्दिभ्सको लिग खेल्न अर्पण आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
माल्दिभ्सकै लिगका लागि अर्पणले सहिद स्मारक 'ए' डिभिजन लिग खेलेका छैनन् । माल्दिभ्सको क्लबसँग सम्झौता भएसँगै उनले नेपाली क्लबसँग सम्झौता नगरेका हुन ।
अर्पणले गत सिजन नेपाल पुलिस क्लबबाट लिग खेलेका थिए । लगतै उनले पारो एफसीबाट भुटानी लिग खेलेका थिए ।

भुटानको लिगपछि अर्पण १३ औं साग खेल्न नेपाल आएका थिए । नेपालले सागमा स्वर्ण जितेको थियो ।
यस्तै गत महिना जापानको जे लिगको यू -२३ टिमसँगको मैत्रीपूर्ण खेलम अर्पणले नेपाल निलोको गोलपोस्ट सम्हालेका थिए ।
अर्पणको टिम जे जे स्पोर्ट्स गत सिजनको उपबिजेता टिम हो । तर, एक मात्रै टिम बढुवा हुने भएपछी जे जे स्पोर्ट्स दोस्रो डिभिजनमै रहेको हो । यस सिजन भने २ टिम बढुवा हुने बताएको छ ।
माल्दिभ्सको दोस्रो डिभिजनको लिगमा ९ टिमले प्रतिस्पर्धा गर्ने छन् ।