एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न सात खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा शनिबार लिग लिडर लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, टोटेनहम, लेष्टर सिटी लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली समय अनुसार साँझ ६:१५ मा आर्सनलले क्रिस्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ । लिगको दशौँ स्थानमा रहेको आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
नवौं स्थानमा रहेको क्रिस्टल आर्सनललाई घरेलु मैदानमा स्तब्ध बनाउने योजनामा हुनेछ । आर्सनलको २७ अंक रहदा क्रिस्टलको २८ अंक रहेको छ ।
चेल्सीले घरेलु मैदानमा बर्नलीको सामना गर्नेछ । खेल राति ८:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै चेल्सी शीर्ष तीनका क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । चौंथो स्थानको चेल्सीको ३६ अंक रहेको छ ।
लिगको दोस्रो स्थानमा रहेको लेष्टरले घरेलु मैदानमा साउथह्यामटनसँग खेल्नेछ । लेष्टर सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलमाथि दबाब कायम गर्न चाहन्छ । लेष्टरले २१ खेलमा ४५ अंक जोडेको छ ।
म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ । खेल राति ८:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै युनाइटेड अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । युनाइटेड ३१ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
लिग लिडर लिभरपुलले टोटेनहमसँग उसैको मैदानमा खेल्न छ । खेल राति ११:१५ मा सुरु हुनेछ ।
टोटेनहमविरुद्ध लिभरपुल जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढ्न चाहन्छ । यस्तै अपराजित यात्रालाई कायम राख्न चाहन्छ ।
यता, घरेलु टिम टोटेनहम लिभरपुललाई पहिलो हार चखाउने योजनामा हुनेछ ।
लिगमा लिभरपुलले २० खेलमा ५८ अंक जोडेको छ । ३० अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ ।