काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए ।
सरस्वतीविरुद्ध एकतर्फी खेल पस्किएको आर्मीले थुप्रै गोलको अवसर खेर फालेको थियो । खेलको तेस्रो मिनेटमै दिनेश हेम्जनले डिबक्स भित्रबाट क्रसबार माथी प्रहार गरे । खेलको २५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्न चुके। डीबक्स भित्र रहेका उनको फिनिसिङ कमजोर रह्यो ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्ज प्रिन्स गोल गर्न चुके । एकल प्रयासमा गोलकिपर बिट गरेपनि उनले पोस्ट बाहिर प्रहार गरे । उनले प्रहार गरेको बल दोस्रो बारको केही इन्च परबाट गएको थियो ।
दोस्रो हाफमा पनि आर्मीले केहि अवसर खेर फाल्यो । ५१ औं मिनेट जर्ज प्रिन्स सरस्वतीका गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न चुके ।
सरस्वतीले पनि केहि अवसर खेर फालेको थियो । २४ औं मिनेटमा सरस्वतीका अबेल एमवान्किनाको प्रहार आर्मीका किपर विकेश कुथुले सहजै बचाए ।
यस्तै ५४ औं मिनेटमा सरस्वतीका विनोद केसीको डिबक्स भित्रको कडा प्रहार पनि विकेशले विफल बनाईदिए ।
खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए ।

आर्मीको यो लिगमा चौंथो जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ ।
साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।
दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ ।
सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले शीर्ष स्थानको दबाबले सरस्वतीसँग खेल्न गार्हो भएको बताए ।
'महत्त्वपूर्ण तीन अंक आयो । खुसी छौँ । शीर्ष स्थानको लागि दबाब थियो त्यो कारणले पनि सोचेको जस्तो खेल्न सकेनौं,' प्रशिक्षक नविनले भने, 'मैदानको अवस्थाले पनि गार्हो भयो । पाएको मौका सदुपयोग हुन सकेन । हाम्रो स्ट्राइकिङ लाइनमा अझै समस्या छ ।'
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले टिमको प्रयासबाट सन्तुष्ट रहेको बताए ।
'खेल हारेपनी केटाहरुले राम्रो खेले । पहिलो हाफमा पाएको अवसर गुमायौं,' उनले भने, 'पराजित भए पनि सन्तुष्टि छु । हामी राम्रो गर्ने प्रयास गर्छौं ।'

आर्मी प्लेईङ सेट -
नवयुग श्रेष्ठ, सेसेहाङ आङदेम्बे, विकास खवास, विकास तामाङ, दिपक गुरुङ, सुमन अर्याल,विकेश कुथु, भरत खवास, दिनेश हेन्जन, जर्ज प्रिन्स कार्की,सन्तोष तामाङ
सरस्वती प्लेईङ सेट -
आन्द्रे एक्वेम, दिपेश श्रेष्ठ,प्रदीप भण्डारी,तिर्थ बहादुर बस्नेत, सुशन लामा, मनिष थापा, हिसुब थपलिया, दिपक भुसाल, पूर्ण बहादुर श्रेष्ठ, अबेल एमवान्किना, निमाङ तामाङ