काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।
बिहिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे ।
एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता पनि संकटाले बनाएको थियो । खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २-० ले अघि रह्यो । कर्णको यो संकटाको लागि पहिलो गोल समेत हो ।
दोस्रो हाफमा भने खेल रोमान्चक बन्यो ।
५३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-२ को जित दिलाए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।
जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ ।
एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
एपीएफलाई पराजित गरेपछि संकटाका प्रशिक्षक विजय महर्जनले अब टिमको लक्ष्य शीर्ष ६ भित्र रहने बताए ।
'अघिल्ला खेलमा भन्दा यस खेल धेरै राम्रो भयो । खेलाडीको प्रदर्शनबाट खुसी हुनुपर्छ,' उनले भने, 'अब शीर्ष ६ का लागि खेल्ने छौँ ।'
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले डिफेन्समा तालमेल नमिलेको कारण हार व्यहोरेको बताए ।
'पहिलो हाफमा बढी दबाब भयो । डिफेन्स क्षेत्रमा फउल नगर्नु भनेको थिए । त्यही फउल गरेर पहिलो गोल खायौं । दोस्रो गोल किपरको गल्तिमा भयो,' तामाङले भने, 'दोस्रो हाफमा खेलमा फर्कने कोशिश गरेपनि पछाडी पर्यौं ।'

संकटा प्लेईङ सेट -
अमित तामाङ, अर्नेष्ट टेम्पी, रोशन पहारी, लक्ष्मण रुचाल, मेसौके जिन मारी, सरोज दाहाल, सुवास गुरुङ, विनय श्रेष्ठ, राजेन्द्र रावल, अजयी मार्टिन्स, बिष्णु सुनार, कर्ण लिम्बु
एपीएफ प्लेईङ सेट -
अमृत कुमार चौधरी, सुदीप शिख्राकार, नविन लामा,रमेश दंगाल, सन्तोष कटवाल, राजन गुरुङ, बुद्धि मान राई, आशिष लामा, टोप बहादुर बिष्ट, रबि थिङ, राजिब लोप्चन