काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज (बिहिबार) हुँदैछन् ।
पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् । दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ ।
दशरथ रंगशालामा हुने संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
सोही स्थानमा आर्मी र सरस्वती दिउँसो ३ बजे भिड्नेछन् ।
संकटा र एपीएफ दबाबमा
लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध संकटालाई जितको बिकल्प छैन ।
यस्तै, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जितको बिकल्प छैन । एपीएफ रेलिगेशन जोनकै नजिक रहेको छ ।
लिगमा ४ खेलबाट संकटा र एपीएफले जम्मा एक जित मात्रै दर्ता गराएको छन् । दुवै टिमको समान ४ अंक रहेको छ ।
लिग जित्ने लक्ष्य सहित होमिएको संंकटा एक मात्रै जितले दबाबमा छ । उसले दुई खेलमा हार ब्यहोरेको छ भने एकमा बराबर गरेको छ ।
संकटा क्लबका प्रशिक्षक विजय महर्जन एपीएफविरुद्धको खेल निकैनै महत्वपुर्ण रहेका कारण जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।
‘एपीएफविरुद्ध तीन अंकको निकैनै महत्व छ । एपीएफविरुद्व जित निकाल्दै उपाधिको होडमा बस्न चाहन्छौ ।’ उनी भन्छन् ।
लिगमा एक मात्रै जित निकालेको संकटा ४ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
अन्तिम खेलमा नेपाल पुलिससँग २–१ गोल अन्तरले पराजित संकटाले सोही सेट मैदानमा उतार्ने तयारी गरेका छ ।
पहिलो खेलमा च्यासलसँग २–० गोल अन्तरले पराजित संकटा दोस्रो खेलमा एनआरटीसँग १–० ले पराजित भएको थियो । तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको संकटा चौथो खेलमा पुलिससँग २–१ ले पराजित बनेको थियो ।
गत सिजन संकटाले एपीएफ क्लबलाई २–१ ँगोल अन्तरले पराजित गरेको थियो ।
यता, एपीएफ पनि संकटालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ संकटाविरुद्ध आक्रमक खेल खेल्दै तीन अंक लिने बताउँछन् ।
‘संकटा पनि राम्रो टिम छ । हाम्रो टिम पनि सन्तुलित हुँदै आएको छ । तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
अन्तिम खेलमा सरस्वती युथसँग प्रतिबन्धमा परेका राजिब लोप्सान संकटाविरुद्ध भने मैदान उत्रनेछन् । उनी दोस्रो पहेलोे कार्डका कारण मैदान बाहिर रहेका थिए ।
पहिलो खेलमा मनाङसँग २–० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा भने हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै तेस्रो खेलमा थ्रीस्टारसँग पराजित उसले अन्तिम खेलमा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
आर्मीलाई शीर्ष स्थानमा उक्लिने मौका
लिग जित्ने लक्ष्य बनाएको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई तालिकाको शीर्ष स्थान उक्लने अवसर छ । बिहीबार सरस्वती युथ क्लबलाई पराजित गरेमा आर्मीले लिग तालिकामा स्पष्ट एक अंकको अग्रता प्राप्त गर्नेछ ।
लिगमा दाबेदारीता प्रस्तुत गरेपनि पाचौं चरणसम्म आईपुग्दा आर्मीले शीर्ष स्थानमा उक्लिन पाएको छैन ।
मनाङ मर्स्याङ्दी र मछिन्द्रले अन्तिम खेलमा २–२ को बराबरी खेलेपछि आर्मीले लिगमा नेतृत्व गर्ने अवसर पाएकाे हाे । दशरथ रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।
सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । सरस्वती तालिकको पुछारमा छ । रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन ।
सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल रेलिगेशन जोनबाट बच्नका लागि भएपनि आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।
‘अब प्रत्येक खेल महत्वपुर्ण छन् । अबकाे खेल राम्रो भए रेलिगेशनबाट बच्छौं । आर्मीलाई पनि जित्न खेल्छौ ।’ उनी भन्छन् ।
पहिलो खेलमै एनआरटीसँग ४–० ले पराजित सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १–० ले हारेको थियो ।
तेस्रो खेलमा नेपाल पुलिससँग २–० ले पराजित उसले चौथो खेलमा एपीएफलाई २–१ ले नतिजा सुम्पिएको थियो ।
गत सिजन आर्मीले सरस्वती युथलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
विकाश खवास 'म्यान अफ दि म्याच' बनेको खेलमा कप्तान भरत खवासले दुई तथा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए ।
आर्मी पनि सरस्वती युथलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा पुग्ने दाउमा छ । सहायक प्रशिक्षक तथा ब्यवस्थापक चुन बहादुर थापा सरस्वतीविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘शीर्ष स्थानमा जाने एउटा मौका छ । खेलाडी तयार छन् । सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमाउँछौं ।’ उनि भन्छन् ।
लिगमा ४ खेल खेलेका आर्मीको ९ अंक रहेको छ । एक खेल कम खेलेको आर्मी चौथो स्थानमा छ ।
पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले दोस्रो खेलमा मनाङसँग १–० को हार ब्यहोरेको थियो । आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० गोल अन्तरले हराएको थियो ।
दोहोरो पहेलो कार्डका कारण थ्री स्टारविरुद्धको खेल गुमाएका दिनेश हेम्जन टिममा फर्कने छन् । कमजोर मानिएको सरस्वतीविरुद्ध आर्मीले कप्तान भरत खवाससहित केही खेलाडीलाई आराम दिने योजना बनाएको छ ।