काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पाचौं चरणको दोस्रो खेललाई धेरैले बहुप्रतिक्षित मानेका थिए ।
मैदानमा पूर्व लिग च्याम्पियन मनाङ मस्र्याङ्दी र सोही टिमलाई च्याम्पियन बनाएका खेलाडीले भरिएको मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदै थियो ।
दशरथ रंगशालामा खेल सुरु हुने बित्तिकै मनाङका विदेशी खेलाडी फेमी जोसुवाले हेडमार्फत गोल गरे । खेलको दोस्रो मिनेटमै गोल ब्यहोरेपछि मछिन्द्रले लय गुमायो ।
खेल अवधिभर निकै आक्रमक देखिएको मछिन्द्रले गोलका लागि दोस्रो हाफनै कुर्न पर्यो ।
दोस्रो हाफको दोस्रो मिनेटमा मनाङका पुर्व कप्तान समेत रहेका मिडफिल्डर सुजल श्रेष्ठले मछिन्द्रका लागि बराबरी गोल फर्काए । गोलपछि भने मछिन्द्रले खेलमा पुरा पकड बनायो ।
खेलको ८२ मिनेटमा मछिन्द्रका विदेशी खेलाडी एडेलाजा सोमिडेले मनाङका गोलरक्षक दिप कार्कीकाे गल्तीको फाईदा उठाउँदै गोल गरे ।
मनाङका पुर्व खेलाडी सोमिडेको गोलसँगै मछिन्द्र खेलमा अगाडी बढ्यो ।
लगत्तै बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राष्ट्रिय टिमका सदस्य विमल रानाले गोल गर्दै मनाङलाई बराबरीमा ल्याए ।
मछिन्द्रका गोलरक्षक र डिफेन्सको तालमेल नमिलेको फाईदा उठाउँदै उनले ८७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
खेलको अन्तिम मिनेटमा मछिन्द्रले कर्नर पायो ।
अनि खेलको माहोल बिग्रन थाल्यो ।
अन्तिम समयमा मनाङका खेलाडीले बल बाहिर क्लियर गरेपछि मछिन्द्रले कर्नर प्राप्त गर्छ ।
कर्नर प्रहार गर्न दिपक राई जाने तयारी गर्छन् ।
तर रन्जित धिमालले कर्नर प्रहार आफै गर्ने इशारा गरेपछि दिपक फर्कन्छन् ।
जब रन्जितले कर्नर प्रहार गर्छन् ।
बलले पोष्टको दिशा नपाएपछि फिफा रेफ्री श्रवणकुमार तामाङले खेल सकिएको सिठी बजाउँछन् ।
अनि मैदानमा खेलाडीको घम्साघम्सी सुरु हुन्छ ।

रेफ्री श्रवणले खेल सकिएको संकेत गर्ने बित्तिकै मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दिपक राईबाट झगडा सुरु हुन्छ ।
बल कन्ट्रोल गर्न बल नजिकै पुग्दै गरेका दिपकलाई जगजितले उफ्रिदै कुहिनाले प्रहार गर्छन् ।
घटनालाई रेफ्री तामाङले देख्न भ्याउँदैनन् ।
यसपछि पुन जगजितले दिपकतिर लम्किदै धकेल्छन् ।
अनि रेफ्री दुवै खेलाडीको नजिक पुग्छन् ।
अनि मैदानको दक्षिणतर्फ वार्म अपमा रहेका मछिन्द्रका खेलाडी मैदान छिर्छन् ।
रेफ्री श्रवणले जगजितलाई मैदान बाहिर निकाल्न खोज्छन् । जगजितको मुक्का भेटेका दिपक मैदानमा आक्रामक देखिन्छन् ।
लगत्तै मनाङका बैकल्पिक गोलरक्षक अशोक बराल मैदान पस्छन् ।
उनी सुरुमा मनाङकै पेनाल्टी बक्समा पुग्छन् ।
उनी यू–२३ टिमका स्ट्राइकर समेत रहेका रेजिन सुब्बाले रोक्ने कोशिस गर्छन् । तर बरालले रेजिनलाई लडाउँदै आक्रोशिक मुद्रामा अगाडी बढ्छन् ।
स्थितिले उग्र रुप लिन्छ ।
उनी राष्ट्रिय टिमका डिफेन्डर देबेन्द्र तामाङलाई मुक्का प्रहार गर्छन् । अनि देबेन्द्र पनि उनलाई प्रहार गर्न अगाडी देखिन्छन् ।
मनाङका पुर्व कप्तान विराज महर्जन र गोलरक्षक विशाल श्रेष्ठ अशोकलाई सम्झाउँदै कर्नर भागमा लिएर जान्छन् ।
निकैनै आक्रमक देखिएका देबेन्द्रलाई मछिन्द्रका अफिसियल मैदान बाहिर निकाल्ने कोशिस गर्छन् । तैनाथ सुरक्षाकर्मी पनि मैदान पसेर स्थिती नियन्त्रणमा लिन खोज्छन् ।
निकै आक्रोशित देखिएका देबेन्द्रलाई अफिसिलले रोक्न सक्दैनन् ।
मनाङका कप्तान कमल श्रेष्ठ र अफिसियललाई समेत पल्टाएरपछि अगाडी बढेको देबेन्द्रलाई प्रहरीले मैदान बाहिर निकाल्छन् ।

त्यो बेलासम्म मनाङ र मछिन्द्रका अफिसियल मैदान प्रवेश गरिसकेका हुन्छन् ।
सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा लिन मैदानमा रहेका खेलाडी र अफिसियललाई मैदान बाहिर निकाल्छन् ।
मैदानभित्र अराजक देखिएको मनाङका अशोकलाई रेफ्री श्रवणले रातो कार्ड देखाउँछन् ।
झगडाको सुरुवात गर्ने जगजितले भने कुनै कार्ड पाउँदैनन् ।
खेल सकिए लगत्तै मनाङका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले क्लब र खेलाडीको बचाउ गरे ।
वार्म अपमा समेत सहभागी नभएका जगजितको बचाउ गर्दै उनले भने, ‘उनी केहि समस्याका कारण वार्म अपमा नआएका हुन् ।’
उनले खेलपछिको स्थितीबारे आफुलाई केही थाहा नभएको बताए ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कुटुवालले भने मनाङका खेलाडीले हातपात गरेपछि त्यसलाई रोक्न आफ्ना खेलाडी मैदान छिरेको बताए ।
‘खेलाडीको अनुशासनहिन कार्यले यस्तो भयो । दिपक र जगजितबाट खेलको स्थिती अर्को रुपमा गयो । के भएको हो भन्ने बिषयमा खेलाडीलाई सोध्नुपर्छ ।’ प्रवेशले भने ।