काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे । मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे ।
सुरुवाती अग्रता भने साविक विजेता मनाङले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा फेमीको गोलमा मनाङले अग्रता बनाएको थियो। उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।
डिस्को काण्डपछि एन्फाको ४५ दिने कारबाही फुकुवा हुँदै अन्जन सोमबारबाट मैदान फर्किएका हुन् ।
पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्र दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४७ औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा फर्काए ।

मनाङविरुद्ध आक्रामक खेल खेलेको मछिन्द्रले ८१ औं मिनेटमा एडिलाजाको गोलबाट २-१ को अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी विमलले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै मनाङलाई हारबाट जोगाए ।
खेलमा मछिन्द्रका एडिलाजा म्यान अफ दि म्याच चुनिए ।

मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ ।
यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

के भने प्रशिक्षकले ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवाल बराबरीको नतिजाबाट दुखी देखिए ।
‘एक अंकले दुखी छु ।’ कटवालले खेल लगत्तै भने, ‘सुरुमै गोल भयो । खेलाडीले समेत पहिलो हाफमा हतारिएर खेले ।’
बराबरीको नतिजाले उपाधि होडमा दुवै टिमलाई घाटा भएको भन्दै आफ्नो टिमलाई समेत थोरै गाह्रो हुने बताए ।
दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्दा गोल पनि निस्किएको बताउँदै उनले डिफेन्डर र गोलकिपरको राम्रो सम्पर्क नहुदाँ अंक बाड्नु परेको बताए ।
मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले आफुहरुको रणनीति सफल भएको बताउँदै बराबरीको नतिजामा सन्तुष्ट देखिए ।
‘रेजिन र विराजलाई रोक्ने रणनीति सफल भयो ।’ उनले भने, ‘मछिन्द्रको गोल उनीहरुकै क्रसमा निस्किएको थियो । तर दुवै खेलाडीलाई रोक्न नसक्दा गोल समेत खायौ ।’
झगडामा उत्रिए ...
रोमान्चक भिडन्त बराबरीमा सकिएपछि दुवै टोलीका खेलाडी झगडामा उत्रिएका थिए । दुवै टिमका खेलाडी मैदानमा हात हालाहालको स्थितिमा पुगेका थिए ।
मनाङ प्लेईङ सेट -
कमल श्रेष्ठ,सुरज विश्वकर्मा, फ्लोरेन्ट कोने,दीप कार्की,पुजन उपरकोटी, भिदाल लुइस, फेमी जोसुवा,रन्जन बिष्ट, अन्जन बिष्ट, दयानन्द सिंह, आदित्य चौधरी
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विराज महर्जन,रेजीन सुब्बा, विशाल श्रेष्ठ,देवेन्द्र तामाङ, सुजल श्रेष्ठ,अभिषेक रिजाल, विशाल राई, आन्द्रेस निया, पिटर सगुन, एडिलाजा सोमिडे