काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
फेमी जोसुवाको गोलमा मनाङले दोस्रो मिनेटमा अग्रता बनाएको हो ।
उनले एन्फाको प्रतिबन्धबाट फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।
डिस्को काण्डपछि एन्फाको ४५ दिने कारबाही फुकुवा हुँदै अन्जन मैदान फर्किएका हुन् ।

पहिलो हाफको दोस्रो मिनेटमै गोल खाएको मछिन्द्रले मनाङविरुद्ध लगातार दबाब बनायो । तर, मछिन्द्रको आक्रमक खेललाई मनाङका डिफेन्स र गोलकिपरले विफल बनाईदिए ।
खेलको १५ औं मिनेटमा मछिन्द्रका विशाल राईले फ्रिकिक मनाङका डिफेन्डर आदित्य चौधरीले हेड गर्दै क्लियर गरे ।
१९ औं मिनेटमा रन्जित धिमालको फ्रिकिक बलमा विदेशी खेलाडी सोमिडे एडिलाजाको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
त्यसपछि खेलको ३१ औं मिनेटमा विशालको फ्लेरिकिक पासलाई पिटर सेगुनले पोस्टको दिशा दिएपनि मनाङका गोलकिपर दिप कार्की बाधक बने । पिटरको प्रहार दिपले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।
खेलको ४२ औं मिनेटमा अभिषेक रिजालको हेड पनि दोस्रो बार नजिकैबाट बाहिरिदा मछिन्द्र बराबरी गर्नबाट चुकेको थियो ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । मछिन्द्रबाट ७ खेलाडीले पूर्व क्लबविरुद्ध खेलिरहेका छन् ।