काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार बहुप्रतिक्षित भिडन्त हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भिड्दै छन् - साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्र फुटबल क्लब ।
खेल दिउसो ३ बजे सुरु हुनेछ ।
लिगको पाँचौं चरणमा आईपुग्दा मनाङ र मछिन्द्रको खेललाई महत्वकासाथ हेरिएको छ । किनकी यस खेलको नतिजाले उपाधि होडको समीकरण तय हुनेछ ।
पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको मछिन्द्रले पहिलो पटक लिगमा शीर्ष स्थान कब्जा गर्ने लक्ष्यसहित मैदान उत्रने छ । लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ ।
गत सिजन लिग जित्दा मनाङमा रहेका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन् । त्यसैले पनि यस खेललाई महत्वका साथ हेरिएको छ । लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलो पटक मनाङविरुद्ध उत्रदैछन् ।
अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन्त गुरुङ, दिपक राई, लोनमा आएका देभेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन् ।
त्यसैले त मनाङ र मछिन्द्रलाई नेपाली फुटबलको नयाँ प्रतिद्वन्दीको रुपमा पनि हेरिएको छ ।
मछिन्द्रका कप्तान विराज महर्जन पुरानो क्लबविरुद्ध आफुहरु खेल्न तयार भएको बताउँछन् ।
‘हाम्रो पुरानो क्लब हो । एक हिसाबले आफ्नै क्लबसँग खेल्न पाउँदा खुसी पनि छौं । हामी खेल्न तयार छौं । हाम्रो मुख्य लक्ष्य नै ३ अंक हुनेछ,’ पहिलो पटक मछिन्द्रबाट खेल्दै गरेका महर्जनले भने ।
जारी लिगमा अपराजित रहेको मछिन्द्र ९ अंक जोड्दै तालिको तेस्रो स्थानमा छ । गत सिजन लिगमा गरेको खराव प्रदर्शनका कारण मछिन्द्रसँग सुरुवातमै एक अंक खोसिएको छ ।
पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई पराजित गरेको मछिन्द्र दोस्रो खेलमा भने च्यासलयुथसँग १-१ को बराबरीमा रोकिएको थियो । यस्तै तेस्रो खेलमा फ्रेन्डसलाई ३–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले चौंथो खेलमा भने एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
गत सिजन मनाङले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा मछिन्द्रका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच चुनिएका थिए ।
मनाङ अघिल्लो सिजनको प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ । मनाङका विदेशी प्रशिक्षक फुजा तोपे मछिन्द्रविरुद्ध ३ अंकको लागि नै खेल्ने बताउछन् ।
‘मछिन्द्र यस पटक बलियो छ । तर हामी ३ अंकका लागि खेल्छौं ।’ फुजा भन्छन् ।
यता, मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहेको छ । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै टिममा फर्कन लागेका हुन् ।
अन्जन टिममा फर्कदा सबैलाई हौसला बढेको र टिमलाई धेरै फाइदा पुगेको समेत प्रशिक्षक फुजाले बताए ।
पहिलो खेलमा विभागीय एपीएफ र दोस्रो खेलमाआर्मीलाई पराजित गरेको मनाङले तेस्रो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको थियो । चौंथो खेलमा भने मनाङ फ्रेन्ड्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।