एजेन्सी । फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले छैटौं श्रेणीको क्लब लिनास मोन्टलेरीलाई ६-० गोल अन्तरले हराएको हो । जितसँगै पीएसजी फ्रेन्च कपको अन्तिम ३२ मा प्रवेश गरेको छ ।
पीएसजीलाई जित दिलाउन एडिन्सन काभानी र पाब्लो सराबियाले समान २-२ गोल गरे । यस्तै आदील औचिची र एरिक म्याक्सिमले एक एक गोल थपे ।
एमेच्योर क्लबविरुद्ध फ्रेन्च लिग वान लिडर पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा चार गोल गरेको थियो ।

रोबर्ट बोबिन स्टेडियममा पीएसजीसँग फराकिलो हार व्यहोरेपनि लिनासको लागि विशेष रह्यो ।
किनकी आफ्ना मन पर्ने क्लबविरुद्ध लिनासका खेलाडी मैदान उत्रन पाए । उनीहरु आफ्ना आइडल खेलाडीसँग मैदानमा खेल्न पाए ।
लिनास फ्रान्सको राजधानी पेरिसबाट २६ किमी टाढाको शहर मोन्टलेरीको क्लब हो । जुन शहरको जनसंख्या मात्र ७ हजार रहेको छ । क्लबका अधिकांस खेलाडी पीएसजीमा 'डाईहार्ट' फ्यान ।
क्लबका मुख्य प्रशिक्षक स्टेफेन काब्रेली पीएसजीका सिजन टिकट होल्डर नै हुन् ।
'म ५२ वर्षको भए । म ६ वर्षको हुँदाबाट पार्क डे प्रिन्सेस (पीएसजीको मैदान) जाने गरेको छु ,' प्रशिक्षक स्टेफेनले भने, 'खेलाडीहरु र म सबै वर्ष उनीहरुको समर्थन गर्छौ । उनीहरुविरुद्ध खेल्दा पक्कै पनि अनौंठो रह्यो ।'
