एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले सहकर्मी अर्टुरो भिडाल क्लबमै रहने आफ्नो विश्वास रहेको बताएका छन् ।
चिलीका मिडफिल्डर भिडालले पछिल्लो समय क्लब छाड्ने संकेत गरिरहदा स्वारेजले भने उनी क्लबमै रहने बताएका हुन् ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति छिमेकी क्लब स्पानियोलसँग २-२ गोलको बराबरीमा रोकिएपछि बोल्दै स्वारेजले भिडाल क्लबमै रहने विश्वास रहेको बताए ।
स्वारेजले भिडाल टिमका लागि निकै महत्वपूर्ण खेलाडी भएको समेत बताए ।
‘उनले क्लबका लागि धेरै योगदान दिएका छन् साथै उनको स्वभाव पनि व्यवसायिक खालको छ, ’ स्वारेजले भने, ‘संख्याका आधारमा उनले थोरै खेल खेलेका छन् तर उनको योगदान भने अतुलनीय छ । म आशा गर्छु उनी रहन्छन । उनी हाम्रो टिममै हुनेछन् ।’
पछिल्लो समय भिडाल जनवरी ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलान जाने हल्ला चल्दै आएको छ । भिडाल अनुबन्ध गर्न मिलानले निकै महत्वका साथ चासो दिईरहेको छ । भिडाल पनि मिलान जान इच्छुक रहेको बताईएको छ ।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि जनवरी ट्रान्सफर विन्डोमा क्लबाट कोहीपनि बाहिर नजाने बताएका छन् ।