काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल सोमबारबाट सुरु हुँदैछ ।
लिगको चौंथो चरणको खेल बिहिबार सकिएपछि खराब मौषमको कारण खेल दुई दिन पछि सारिएको हो । लगातारको वर्षाले मैदान खेल्न योग्य नहुदा अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल समितिले खेल दुई दिन सार्ने निर्णय गरेको थियो ।
पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पाचौं चरणको पहिलो दिन दुई खेल हुनेछन् ।
पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । एनआरटी भने जावलाखेललाई पराजित गर्दै शीर्ष ६ भित्र स्थान बनाउने योजनामा हुनेछ ।
जावलाखेल ८ अंकसहित चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानको मनाङ मर्स्याङ्दीको १० अंक रहेको छ । आठौं स्थानको एनआरटीको ४ अंक रहेको छ ।
सोमबार हुने दोस्रो अपराजित दुई टोली मछिन्द्र क्लब र साविक विजेता मनाङबीच खेल हुनेछ । जुन खेलले लिगको शीर्ष स्थानको टुंगो लगाउने छ ।
यस खेललाई सबैको प्रतिक्षाको खेलको रुपमा समेत हेरिएको छ । किनकी मनाङबाट खेल्दै आएका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन् । उनीहरुले पूर्व क्लबविरुद्ध खेल्नेछन् ।
यस्तै मनाङसँग राष्ट्रिय टिमका एक मात्र खेलाडी अन्जन बिष्ट रहेका छन् । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन प्रतिबन्ध फुकुवा हुँदै मछिन्द्रविरुद्ध खेल्ने छन् ।
पाँचौ चरण अन्तर्गत मंगलबार एक खेल मात्रै हुनेछ । जसमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिडनेछन् । खेल दिउँसो ३ बजे हुनेछ । दुबै टिमले जारी लिगमा जित निकाल्न सकेका छैनन् । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै रेलिगेशन जोनबाट माथि उक्लने दाउमा हुनेछन् ।
लिग अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा थ्री स्टार छैटौं र ब्रिगेड सातौं स्थानमा रहेका छन् ।
यस्तै दोस्रो खेलमा च्यासल युथ र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ । जारी लिगमा पुलिस छैठौं स्थानमा छ भने च्यासल नवौं स्थानमा छ ।
पाँचौ चरणको अन्तिम दिन दुई खेल हुनेछन् । बिहीबार हुने खेलमा संकटा क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लब र सरस्वती युथबीच प्रतिस्पर्धा हुँदैछ ।
चौंथो चरणको समाप्तिसम्म ...
लिगको चौंथो चरण सकिदा अपराजित मनाङ शीर्ष स्थानमा रहेको छ । चौथो खेलमा फ्रेन्ड्ससँग १–१ को बराबरीमा रोकिएपनि साविक विजेता मनाङले आफुलाई शीर्ष स्थानमा कायमै राख्न सफल भयो । मनाङले १० अंक जोडेको छ ।
चौंथो खेलमा प्रभावशाली प्रदर्शन गरेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले थ्री स्टारलाई बिहीबार २–० गोल अन्तरले पराजित गरेको थियो । थ्री स्टारमाथिको जितसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको हो ।
आर्मीले ४ खेलबाट ९ अंक रहेको छ । समान ९ अंक भएपनि मछिन्द्र दोस्रो स्थानमा छ । जारी लिगमा मछिन्द्र पनि अपराजित रहेको छ । तर, अघिल्लो सिजन लिगको रेलिगेसन क्षेत्रमा रहेको कारण उसको एक अंक खोसिएको छ ।
चौंथो चरण सकिदा जावलाखेल चौंथो स्थानमा रहेको छ । चौंथो खेलमा च्यासलविरुद्ध अप्रत्यासित २–० को जित निकाल्दै जावलाखेल ८ अंकका साथ चौथो स्थानमा उक्लिएको हो ।
यता, थ्री स्टार भने छैटौं स्थानमा झरेको छ । चौंथो खेलमा आर्मीसँग हार व्यहोरेको थ्री स्टार ७ अंक जोडेर छैटौं स्थानमा झरेको हो ।
लिगमा ७ अंक जोडेको नेपाल पुलिस पाँचौं स्थानमा रहेको छ । पुलिसले लिगको चौंथो खेलमा संकटालाई २–१ गोल अन्तरले हराएको थियो ।
लाहुरेको क्लब भनेर चिनिने ब्रिगेडले तीन स्थान फड्को मार्याे । राष्ट्रिय टिमका पूर्व मिडफिल्डर विजय गुरुङको निर्णायक गोलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको ब्रिगेड ६ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको हो ।
लिगमा ४ अंक जोडेको एनआरटी, च्यासल युथ, एपीएफ र संकटा क्लब क्लब क्रमशः लिगको आठौं, नवौं, दशौं र एघारौं स्थानमा रहेका छन् ।
यस्तै २ अंक जोडेको हिमालयन शेर्पा १२ औं, १ अंक जोडेको फ्रेन्ड्स क्लब १३ औं र अंक विहीन सरस्वती १४ औं स्थानमा रहेका छन् ।