एजेन्सी । स्पेनिस लिगमा एट्लेटिको मड्रिडले लेभान्तेमाथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले लेभान्तेलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको तीनै गोल पाँच मिनेटको अन्तरमा सम्भव भएको हो ।
खेलको १३ औं मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए ।
त्यसको दुई मिनेटपछि डिफेन्डर फिलिपले हेडमार्फत गोल गर्दै मड्रिड क्लबलाई अघि बढाएका थिए ।
थप गोल नभएपछि एट्लेटिकोले तीन अंक बटुल्न सफल रह्यो ।

जितसंगै एट्लेटिको ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेभिल्लाको समेत समान ३५ अंक छ ।
तर गोल अन्तरका आधारमा एट्लेटिको माथि रह्यो । लेभान्ते २६ अंक सहित नवौं स्थानमा छ ।