एजेन्सी । गत बिहीबार पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमारले बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेस्सी र लुइस स्वारेजसँग भेट गरे । उरुग्वेमा आयोजित एक कार्यक्रममा उनीहरुको भेट भएको थियो ।
भेटपछि नेयमारले आफ्ना पूर्व सहकर्मीसँग बसेर गफ गर्दै गरेको तस्वीर सामाजिक संजाल इन्स्टाग्रामको स्टोरीमा राखेका थिए ।
नेयमारको त्यस इन्स्टाग्राम स्टोरीसँगै विश्व फुटबलमा एक तरङ्ग नै ल्याएको छ ।
समर विन्डोमा पनि पीएसजी स्टार बार्सिलोना आउने खबरले विश्व बजार तताएको थियो । नेयमार पुनः बार्सिलोना फर्किएर आफ्नो गुमेको साख फर्काउन चाहन्छन भन्दै फुटबल पण्डितहरुले हल्ला फैलाएका थिए । तर, उनी स्पेनिस क्लब गएनन् ।
त्यसपछि सेलाएको नेयमारको बार्सिलोना सरुवा हल्ला पुनः एकाएक फिजिएको छ ।

नेयमारले राखेको स्टोरीलाई लिएर बार्सिलोनाबाट प्रकाशित हुने एक पत्रिकाले नेयमार बार्सिलोना फर्कने संकेत दिएको समचार नै प्रकाशित गरेको थियो। सो समचारपछि नेयमार बार्सा फर्किने संकेत रहेको फुटबल प्रेमीहरुले बुझेका थिए ।
तर, पीएसजीले स्पेनिस पत्रिकामा छापिएको समाचार गलत भएको र अफवाह फैल्याउन छापिएको बताएको छ ।
पीएसजी टक नामक पत्रिकामा छापिएको लेखमा भनिएको छ ‘स्पेनिस रिपोर्टर जोकियम परेरा नेयमारले पोष्ट गरेको स्टोरीलाई पीएसजीका अध्यक्ष नासर अल खेलाफीविरुद्ध रहेको देखाउन चाहान्छन् जुन सरासर गलत हो ।’
पीएसजीले प्रश्न गरेको छ, ‘नेयमारले ब्याटम्यानसँग फोटो खिचे भने उनी अब फृुटबल छाड्दैछन् भन्न मिल्छ ? पक्कै मिल्दैन ।’
यस्तै पीएसजीले नेयमार बार्सिलोना नजाने समेत बताएको छ । पीएसजीले फोटोकै आधारमा कसैले पनि अन्यथा टिप्पणी नगर्न आग्रह पनि गरेको छ ।