काठमाडौं । घरेलु फुटबलको महारथीका रुपमा चिनिन्छन्, मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार ।
नेपाल फुटबलका पण्डितहरु मनाङ र थ्री स्टारलाई स्पेनीस ‘एल क्लासिक’को नेपाली भर्सनको संज्ञा दिन्छन् ।
अर्थात घरेलु फुटबलका दुई चीरप्रतिद्वन्दी क्लब हुन् । जब दुई टिम मैदानमा उत्रिन्छन्, खेल रोमाञ्चक हुने गर्छ ।
जब घरेलु लिग सुरु हुन्छ, उपाधिमा दुवै टिमको स्वत दाबेदारिता देखिन्छ ।
सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदा समेत सोही कुरा देखिएको छ ।
शनिबार थ्रीस्टार र एपीएफबीचको खेलसंगै तेस्रो चरणका खेल समाप्त भएका छन् ।
अंक तालिकामा मनाङ र थ्री स्टारनै अगाडी देखिएका छन् ।
अझ मनाङ अघि–अघि, थ्री स्टार पछि–पछि देखिएको छ ।
तीन खेलको समाप्तीमा शत–प्रतिशत जित निकालेको मनाङको ९ अंक छ ।
दुई खेलमा जित तथा एक खेलमा बराबर गरेको थ्री स्टारको ७ अंक छ ।
थ्रीस्टार पहिलो खेलमै अर्काे ललितपुरे क्लब जावलाखेलसँग गोलरहित बराबरी खेलेको थियो ।
यसपटक लिगमा प्रमुख दाबेदारको रुपमा मछिन्द्रलाई लिईएको छ ।
कारण, उसले घरेलु फुटबलका अधिकांश स्टार खेलाडी क्लबमा जम्मा गरेको छ ।
एक हिसावले मछिन्द्रलाई समकालिन नेपाली फुटबलको ‘ड्रिम टिम’नै मान्दा हुन्छ ।
तर उसले सोचे अनुसार प्रर्दशन गर्न सकेको छैन । लिगको दोस्रो खेलमै मछिन्द्र बराबरीमा रोकियो ।
विगतका बर्षमा मनाङबाट खेल्दै आएका मिडफिल्डर सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, विशाल राई, कप्तान विराज महर्जन, हेमन गुरुङ सहित एएफसी कप छनोट खेलेका अभिषेक रिजाल र देबेन्द्र तामाङलाई मछिन्द्रले अनुबन्धन गरेको छ ।
थ्री स्टारबाट खेल्दै आएका डिफेन्डर रन्जित धिमाल र रेजिन सुब्बा समेत मछिन्द्रमा छन् ।
मछिन्द्रले गत सिजन लिगको अन्तिम स्थानमा रहँदै ऋण अंक बोक्यो ।
मनाङले लिग जितेको सिजन मछिन्द्र १३ औं स्थानमा रह्यो । ए डिभिजन लिगमा उसले एक ऋण अंक बोकेर लिगको सुरुवात गर्यो । लिगमा तीन चरणको खेलको समाप्तिमा मिश्रित प्रर्दशन र नतिजा उसले आत्मसाथ गरेको छ ।
पहिलो खेलमा ब्रिगेड ब्बाईजलाई २–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले दोस्रो खेलमा च्यासल युथसँग १–१ को बराबरीमा रोकिन पुगेको थियो ।
लिगको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । मछिन्द्रले दुई जित र एक बराबरी सहित ७ अंक जोडेको छ ।
मछिन्द्र र आर्मीको अंक बराबर छ । तर गोल अन्तरका आधारमा मछिन्द्र तेस्रो रहँदा आर्मी चौथो स्थानमा छ ।
फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको आर्मीले मनाङसँग भने हार ब्यहोर्याे ।
लिगमा अपराजित यात्रा कायम गरेको जावलाखेल ५ अंक सहित तालिकको पाचौं स्थानमा छ । लिगकै उच्च फर्ममा रहेको उसले हार ब्यहोर्नु परेको छैन । लिगमा तीन खेल सकिँदा जावलाखेलले सरस्वतीलाई पराजित गर्याे भने थ्री स्टार र संकटासँग बराबरी खेल्दै अंक बाँड्यो ।

यता, राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले दुई जित र एक हारका साथ ६ अंक जोड्यो ।
गत सिजन लिगको अन्तिममा रहँदा उसको २ अंक खोसिएको थियो । एनआरटी ४ अंक सहित लिगको छैठौ स्थानमा छ ।
तेस्रो खेलमा मात्रै जित दर्ता गराएको पुलिस एक जित, एक बराबर र एक हारको नतिजा सहित सातौं स्थानमा छ । पुलिसँगै समान एक हार, एक जित र एक बराबर खेलेका च्यासल र संकटाको समान ४ अंक रहेको छ ।
गोल अन्तरका आधारमा पुलिस सातौं, च्यासल आठौं र संकटा नवौं स्थानमा छ ।
यस्तै एक खेलमा मात्रै जित हात पारेको ब्रिगेड ३ अंक सहित दशौं स्थानमा छ ।
फ्रेन्ड्स क्लबलाई पराजित गरेको ब्रिगेड क्लब भने मछिन्द्र र मनाङसँग पराजित भएको थियो ।
यस्तै दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको हिमालयन शेर्पा तीन खेलबाट मात्र दुई अंकका साथ ११ औं स्थानमा रहेको छ ।
एक खेलमा मात्रै बराबरी खेलेको बिभागीय टिम एपीएफ १२ औं स्थानमा रहेको छ ।
सुरुवाती तीनै खेलमा पराजित अंक विहिन भएका फ्रेन्डस र सरस्वती युथ गोल अन्तरका आधारमा क्रमशः १३ औं र १४ औं स्थानमा छन् ।
लिगको चौथो चरणका खेल सोमबारबाट हुनेछन् ।