काठमाडौं । राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिककाे मदतमा विभागीय टिम एपीएफले आठपहरिया प्रथम महिला नकआउट गोल्डकप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धनकुटास्थित तल्लो टुँडिखेलमा शनिबार भएको उद्घाटन खेलमा मोरङ-११ लाई ११-० गोल अन्तरले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । किरात आठपहरिया समाजको आयोजना भएको प्रतियोगितामा सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।
एपीएफको जितमा सुरुवाती गोल कप्तान अनिता बस्नेतले गरिन् । उनले खेलको १० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि भने सावित्राले लगातार गोल गरिन् । उनले खेलको १३, ६०, ६६, ६८ र ७५ औं मिनेटमा गरि ५ गोल गरिन् ।
यू-१९ टिमकी स्ट्राइकर रेखा पौडेलले दुई गोल गरिन् । उनले खेलको २५ र ३५ औं मिनेटमा गोल गरेकी थिईन् ।
यस्तै अनिता केसीले खेलको ४९ औं मिनेटमा गोल गरिन् । त्यस्तै डिफेन्डर गिता रानाले खेलको ६१ औं र ७८ औं मिनेटमा मनमाया लिम्बुले गोल गर्दा एपीएफले फराकिलो जित निकाल्न सफल भयो ।
खेलको वुमन अफ दि म्याच सावित्रा भईन् । उनले तीन हजार रुपैया नगद प्राप्त गरिन् ।
प्रतियोगितामा तीन विभागीय टिमसहित मोरङ-११, एभरेष्ट फुटबल क्लब, बासहा राईजिन युथ कलब,सुनसरी, रौतहत महिला फुटबल टिम र आयोजक टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।