एजेन्सी । बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानले आफु उपाधि जित्नका लागि बार्सिलोनामा अनुबन्ध नभएको बताएका छन् ।
एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले आफु बार्सिलोना आउनुको कारण उपाधि जित्न नभएर अन्य कारण भएको बताए ।
उनले बार्सिलोनामा अनुबन्ध हुनुको कारण नयाँ शैली तथा आफ्नो व्यक्तित्व विकासका लागि भएको बताए ।
‘मैले च्याम्पियन्स लिग वा अरु उपाधिहरु जित्नका लागि एट्लेटिको छोडेको हैन,’ ग्रिजम्यानले भने, ‘म बार्सामा नयाँ शैलीबाट खेल्ने तरिका सिक्न, नयाँ दर्शन र आफ्नो व्यक्तित्व विकास बढाउनका लागि आएको हुँ ।’
ग्रिजम्यान एट्लेटिकोबाट १ सय २० मिलियन पाउण्डमा बार्सिलोना आएका हुन् । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
यस्तै ग्रिजम्यानले एट्लेटिकोले ला लिगा र च्याम्पियन्स लिग जित्न सक्ने समेत बताए ।
‘एट्लेटिकोले ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छ । त्यहाँका खेलाडी र प्रशिक्षकले गर्न सक्छन् ।’
एट्लेटिकोले डियागो सिमोनको प्रशिक्षणमा सन् २०१३–१४ मा ला लिगाको उपाधि जितेको थियो । गत सिजन उपविजेता टिम बनेको थियो ।