एजेन्सी । स्विडेनका अन्तराष्ट्रिय स्टार ज्लाटन ईब्राहिमोभिच सिरि ए क्लब एसी मिलानमा लागेका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका पुर्व स्टार ईब्राहिमोभिचले सिरि ए क्लबसंग ६ महिनाको सम्झौता गरेका हुन् ।
अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधान सहित उनी पुन एसी मिलान पुगेका हुन् ।
३८ बर्षका उनले मेजर लिग सकरको सिजनको अन्तिममा एलए ग्यालेक्सी छाडेका थिए ।
सिरि ए क्लबले भनेको छ, ‘ईब्राहिमोभिच जनवरी २ मा मिलानमा हुनेछन् । स्वास्थ्य परिक्षणपछि उनी टिमसंग जोडिनेछन् ।’
‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु । मिलानको शहरलाई म निकै प्रेम गर्छु ।’ ईब्राहिमोभिचले भनेका छन् ।
ईब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए । उनले ६१ वटा लिग खेलमा ४२ गोल गरेका थिए ।
उनी सन् २०१८ मा अमेरिकन क्लब एलए ग्यालेक्सीमा आबद्व भएका थिए । उनले त्यहाँ ५३ गोल गरेका थिए । उनी सन् २०१८ र १९ को उत्कृष्ट ११ को टिममा समेत पर्न सफल भएका थिए ।
मिलानले सन् २०११ यता मुख्य उपाधि विहिन छ ।
सात पटकको युरोयिन च्याम्पियन निकै खराब लयबाट गुज्रिरहेको छ । क्लबले १७ खेलमा मात्र २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ ।
‘क्लबको अवस्थालाई बदल्न टिमसंग मिलेर म लड्नेछु । जसलाई सम्भव बनाउन म सबै चिज गर्नेछु ।’ ईब्राहिमोभिचले भनेका छन् ।