एजेन्सी । साविक विजेता म्यान्चेष्टर सिटीले प्रिमियर लिग फुटबलमा हार ब्यहोरेको छ ।
शुक्रबार राति दुई गोलले पछाडी परेको अवस्थालाई उल्ट्याउँदै वल्भ्सले घरेलु मैदानमा म्यान्चेष्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
गाेलकिपर ईडरसन १२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमिति बन्न पुगेको थियो ।
खेलमा अग्रता सिटीले २५ औ मिनेट लिएको थियो । रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै ५० औ मिनेटमा सिटीको अग्रता दोब्बर पारे । केभिन डी ब्रुईनीको पासलाई सदुपयोग गर्दै उनले दोस्रो गोल गरेका थिए ।

त्यसपछि घरेलु टोली वल्भ्सले एकपछि अर्को आक्रमण बुन्यो ।
एडामा टौरीले ५५ औ मिनेटमा वल्भ्सका लागि पहिलो गोल गरे ।
८२ औं मिनेटमा घरेलु टोलीका राउल जिमेनेजले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याएका थिए ।
खेल सकिन एक मिनेट अगाडी माट डोहर्टीले गोल गर्दै सिटीलाई स्तब्ध पार्ने नतिजा निकाले ।
पछिल्लो नतिजाले उपाधि होडमा रहेको सिटीलाई गम्भिर धक्का लागेको छ । सिटीको १९ खेलबाट ३८ अंक छ । उल्भ्स ३० अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।