धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणमा करिब १९ लाख घाटा भएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले बिहिबार सार्वजनिक गरेको आय व्यय विवरण अनुसार प्रतियोगितामा १९ लाख घाटा भएको देखिएको हो ।
क्लबका महासचिव प्रकाश शाहीले जारी गरेको विज्ञप्तीमा प्रतियोगितामा एक करोड एक लाखभन्दा बढी खर्च भएपनि आम्दानी भने त्यो अनुसार नभएको जनाईएको छ ।
आय व्यय विवरण अनुसार खर्चतर्फ पुरस्कारमा ३६ लाख, खेलाडी भत्ता तथा यातायातमा साढे ३६ लाख अस्थायी प्यारापिट निर्माणमा ५ लाख, छपाई स्टेशनरी ब्यानर छपाईमा ५ लाख, उद्घाटन समापन तथा अतिथि सत्कारमा ४ लाख बढी रकम खर्च भएको छ ।
रेफ्री खर्चमा सवा तीन लाख, खेल मैदान मर्मत सम्भारमा दुई लाख, विज्ञापन प्रचार प्रसारमा पौने तीन लाख, पोशाक ड्रेसमा एक लाख, सुरक्षामा डेढ लाख, आयोजक टीम तयारीमा पौने तीन लाख र अन्य गरि एक करोड एक लाख ६ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको बताईएको छ ।
आम्दानीतर्फ मुख्य प्रायोजकबाट १२ लाख, टिकट बिक्रिबाट १५ लाख, राखेपबाट ८ लाख, व्यानर प्रायोजकबाट साढे ७ लाख, एभरेष्ट एकेडेमी अत्तरियाबाट ६ लाख, धनगढी उपमहानगरपालिकाबाट ५ लाख, जगदम्बा ईन्टरप्राईजेजबाट ४ लाख, गोदावरी नगरपालिकाबाट ३ लाख, स्वेता टेड्रिङ लिंकबाट एक लाख ८५ हजार आम्दानी भएको जनाईएको छ ।
त्यसैगरी एकेन्द्र कुँवरबाट ढाई लाख, निसर्ग अस्पताल, कैलाली अस्पताल, भागेश्वर ग्रुप, धनगढी उपमहानगरपालिका वडा नम्बर ३, आर के कन्ट्रक्सन, बाट एक एक लाख आम्दानी भएको छ । व्यानर प्रायोजकबाट अझै साढे ८ लाख रकम उठ्न बाँकी रहेको छ । त्यसैगरी गोल्डकप गर्नका लागि सापटी लिईएको १९ लाख ३१ हजार रकम पनि तिर्न बाँकी रहेको छ ।