एजेन्सी । बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रीजम्यानले स्टार खेलाडी लियोनल मेस्सी जस्तो खेलाडी फुटबलमा अब कहिल्यै देख्न नसकिने बताएका छन् ।
फ्रेन्च फरवार्ड ग्रीजम्यानले बार्सिलोनाका सहकर्मी मेस्सीमा भएको क्षमताको बयान गर्दै उनी जस्तो खेलाडीलाई अब बिरलै देख्न सकिने दाबी गरे ।
मेस्सी जस्तो खेलाडी कम्तिमा ४० वर्षमा मात्र एकपटक देख्न सकिने ग्रीजम्यानको भनाई छ ।
‘हामी यस्तो खेलाडीको बारेमा कुरा गर्दैछौ जसलाई फेरी कहिल्यै देख्न सकिदैन वा प्रत्येक ४० वर्षमा मात्र देख्न सक्छौं,’ युएईएफएसँग कुरा गर्दै ग्रीजम्यानले भने ।
यस्तै ग्रीजम्यानले मेस्सी क्याम्प नाउमा हुँदा सबैले फाइदा लिनुपर्ने समेत बताए ।
‘हामीले यसको फाइदा लिनैपर्छ, चाहे उसको सहकर्मी साथी हुन्, समर्थक वा उसको प्रशिक्षकहरु,’ ग्रीजम्यानले थपे, ‘उसले बलसँग जे गर्छ त्यो अविश्वसनीय छ ।’
मेस्सीको उच्च प्रदर्शनमा बार्सिलोना यस सिजन ला लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ ।