काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रुचालले बायाँ भागको कर्नर नजिकै पाएको फ्रिकिकलाई उत्कृष्ट ढंगबाट गोलमा परिणत गरेका थिए ।
त्यसअघि खेलको ३० मिनेटमा संकटाले अग्रता दोब्बर बनाउने मौका गुमायो । विदेशी खेलाडी जियान मरियाले उपलब्ध गराएको क्रसमा कर्ण लिम्बुले बललाई जाली चुमाउन असफल भए ।

तर, खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । हरि कठायतको फ्रिकिकलाई उनले हेडबाट पोस्टको जाली चुमाएका थिए ।
खेलमा संकटाका अर्नेष्ट म्यान अफ दि म्याच चुनिए ।
बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ ।
संकटा पहिलो खेलमा च्यासलसँग पराजित भएको थियो । दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।

जावलाखेलले ३ खेलमा ५ अंक जोडेको छ । जावलाखेल लिगको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा थ्री स्टारसँग बराबरी खेलेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।
के भन्छन् प्रशिक्षक ?
संकटाका प्रशिक्षक विजय महर्जनले विदेशी खेलाडी चलन नसक्दा ३ अंक गुमाएको बताए ।
'सोचे अनुसारको खेल भएन् । हामीले पाएको ३ अंक गुमायौ । डिफेन्स नमिल्दा गोल खायौं,' उनले भने, 'विदेशी खेलाडीले खेल्न सकेनन् ।'
यस्तै जावलाखेलका प्रशिक्षक नरेश थापाले सोचेको भन्दा राम्रो प्रदर्शन भएको बताए ।
'हामीले सोचेभन्दा राम्रो खेल खेलाडीले खेल्यो । पहिलो हाफमा गोल खाएपनि दोस्रो हाफमा दबाब दिन सक्यौ,' उनले भने, 'दोस्रो हाफमा खेलाडी परिवर्तन गर्दा टिम बलियो भयो । विपक्षीलाई दबाब दिन सक्यौ । अब सबै टिमलाई चुनौती दिन्छौ ।'

संकटा प्लेईङ सेट -
अमित तामाङ, अर्नेष्ट टम्पी, लक्ष्मण रुचाल,मेसौके ओलोउमु, सरोज दाहाल, सुभास गुरुङ, विनय श्रेष्ठ, राजेन्द्र रावल, अजयी मार्टिन्स, कर्ण लिम्बु,बिष्णु सुनार
जावलाखेल प्लेईङ सेट -
अरुज सिंह,गौतम श्रेष्ठ, कुलदिप कार्की, सुरज ज्यु ठकुरी, टेकेन्द्र थापा,सुशील कुमार यादव, आडमा डोम्बिया, फोडे फोफाना, ड्याडी जुनियर,सुजित बुढाथोकी, सिमान्त थापा