काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा एपीएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरिन् ।
खेलको पाँचौ मिनेटमा सरुले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ८९ औं मिनेटमा रेखाले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।
योसँगै एपीएफले लगातार दोस्रो वर्ष उपाधि आफ्नो बनाएको छ । समग्रमा एपीएफको यो पाँचौ उपाधि हो ।

यस्तै एपीएफले अपराजित रहदै उपाधि चुमेको हो । एपीएफले समूह चरणमा पनि आर्मीलाई ४-२ गोल अन्तरले हराएको थियो ।
उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ।
सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र भुटान फुटबल टिमले ५०/५० हजार प्राप्त गरेको छ ।
एपीएफले सेमिफाइनलमा पुलिसलाई ५-२ गोल अन्तरले हराएको थियो । आर्मीले सेमिफाइनलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको थियो ।