काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे ।
खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको एक अंक घटेको हो ।
मनाङको २ खेलमा ६ अंक रहेको छ । फ्रेन्ड्स अंक विहीन रहदै पुछारमा रहेको छ । फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।
फ्रेन्ड्सविरुद्ध हेबिवेट टिम मछिन्द्र
राष्ट्रिय टिम र नाम चलेका अफ्रिकन खेलाडीले भरिएको मछिन्द्रले पहिलो हाफमै अग्रता बनाएको थियो ।
ब्राजिलियन खेलाडीसहित मैदान उत्रिएको फ्रेन्ड्सविरुद्ध खेलको २८ औं मिनेटमा पिटरको गोलबाट मछिन्द्रले अग्रता बनाएको थियो । फ्रेन्ड्सका खेलाडीले डिबक्सभित्र बल क्लियर गर्न नसक्दा डिफेन्डर सेगुनले हेड गोल गरेका थिए ।
त्यसअघि खेलमा फ्रेन्ड्सले एक उत्कृष्ट गोलको अवसर पाएको थियो । १० औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको कडा प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बाहिर पठाएका थिए ।
खेलको २० औं मिनेटमा मछिन्द्रले पनि लोभलाग्दो पोस्ट आक्रमण गरेको थियो । उसका विशाल राईले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले उत्कृष्ट बचाउ गरे ।
यस्तै ३२ औं मिनेटमा मछिन्द्रका बुद्द राज लिम्बु गोल गर्न चुके । डिबक्सभित्र पाएको बललाई उनले बाहिर प्रहार गरे ।

दोस्रो हाफमा मछिन्द्रले थप दुई गोल गर्यो । खेलको ५१ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्रबाट मिलाएको ब्याक पासमा सोमिडेले उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा नेपाली यू-२३ टिमका स्ट्राइकर समेत रहेका रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाए । सोमिडेले नभेटेको बलमा डिबक्स भित्रबाट उनले पहिलो बारमा गोल गरेका थिए ।
के भन्छन् प्रशिक्षक ?
फ्रेन्ड्सविरुद्ध सहज जित निकालेपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटवाल खुसी देखिए । यो जितले अन्य खेललाई सहयोग पुग्ने समेत बताए ।
'फ्रेन्ड्सलाई रोक्ने योजना थियो । हामी सफल भयौं । ३-० को जित राम्रो हो । अर्को खेलमा हामीलाई सहयोग पुग्नेछ,' उनले भने ।
यस्तै प्रशिक्षक प्रवेशले सुजल श्रेष्ठ आएपछि टिममा थप सुधार भएको बताए ।
'हाम्रो स्ट्राइकिङ लाइन अझै सुधार गर्नु पर्छ । सुजल आएपछि टिम सेट भयो,' उनले थपे ।
अघिल्ला दुई खेलमा टिममा नरहेका सुजल फ्रेन्ड्सविरुद्ध मैदान प्रवेश गरेका थिए । खेलको ६८ औं मिनेटमा सुजल बुद्ध लिम्बुको स्थानमा मैदान प्रवेश गरेका थिए ।
फ्रेन्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस डान्टोसले बिपक्षि टिम बलियो भएकोले खेल्न नसकेको बताए ।
'हामीले राम्रो खेल्न सकेनौं । बिपक्षि टिम बलियो थियो । उनीहरुको फिटनेस राम्रो थियो । हाम्रो लागि सहज थिएन्,' मार्कुसले भने ।

मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विराज महर्जन (कप्तान), विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, अविशेक रिजाल, विशाल राई, पिटर सेगुन, आन्द्रेस निया, एडिलाजा सोमिडे, बुद्ध राज लिम्बु, रेजिन सुब्बा
फ्रेन्ड्स प्लेईङ सेट -
शक्ति राई, फिलिपे डी सौजा,वांगेर डी कार्मो, साउलो डी अक्विनो, निशेन सुब्बा, सुरज गुरुङ, विश्व अधिकारी, देव लिम्बु, सनिस श्रेष्ठ, सन्जोग महर्जन, सरोज योन्जन लामा (कप्तान)