काठमाडौं । सन्तोष शाहुखल घरेलु लिग फुटबलमा कीर्तिमानी सय गोलको नजिक छन् ।
सन्तोष नेतृत्वको च्यासल युथ क्लबले बुधबार लिगको दोस्रो खेलमा न्युरोड क्लब एनआरटीसंग खेल्दैछ । सो खेलमा सन्तोषले गोल गरेको खण्डमा घरेलु लिग फुटबलमा नयाँ ईतिहास रचिनेछ । सन्तोषले घरेलु फुटबलमा सय गोलको पहिलो कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।
ललितपुरे क्लब थ्री स्टारबाट लामो समय व्यवसायीक फुटबल खेलेका सन्तोष पछिल्लो दुई सिजन च्यासलमा आबद्व छन् । गत सिजन बीचैमा लिग छाडेर जापान फर्किएका उनी चालू सिजन पुरै लिग खेल्न चाहन्छन् ।
‘सय गोलको बिषयमा धेरै नसोचेको छैन । तर लिगमा १५–१६ गोल गर्ने लक्ष्य छ ।’ सन्तोष भन्छन् ।
उनले २०६० सालमा थ्री स्टारबाट लिग खेल्न सुरु गरे । उनले निरन्तर ५ सिजन थ्री स्टारबाटै खेले । पहिलो र दोस्रो सिजन समान ६ गोल गरेका उनले तेस्रो सिजन ९ गोल गरे । २०६३ सालमा चौथो सिजन ११ गोल गरेका उनले ६६÷६७ को लिगमा १९ गोल गरेका थिए ।
उनी २०६८ सालमा मनाङ लागे अनि १६ गोल गरे ।
६९ सालमा थ्री स्टार फर्किएका उनले १७ गोल गरे । ७० सालमा थी स्टारबाटै ९ गोल गर्दै उनी घरेलु फुटबल लिगका सर्वाधिक गोलकर्ताको रुपमा अगाडी आए ।
आन्तरिक विवादले लामो समय नेपालमा लिग फुटबल हुन सकेन । तर ७५ सालमा सुरु भएको लिगमा उनी च्यासल आए । गत सिजन उनले ३ गोल मात्र गरे । चालू सिजनको सुरुवाती दुई खेलमा दुई गोल गर्दै उनले आफ्नो गोल संख्या ९९ पुर्याएका छन् ।
गोल गर्ने लयले बुधबार निरन्तरता पाएमा सन्तोषले घरेलु लिग फुटबलमा सय गोलको कोशेढुङ्गा आफ्नो नाममा लेखाउनेछन् ।