काठमाडौं । सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनल खेल आज हुँदैछ ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा हुने फाइनलमा साविक विजेता एपीएफ र आयोजक त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १:३० बजे सुरु हुनेछ ।
दुवै टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ । दुवै टिम उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रने छन् । यस्तोमा फाइनल रोमान्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा एपीएफ अपराजित रहेको छ । समूह विजेता बन्दै फाइनल पुगेको एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबको चुनौती ५-२ ले पन्छाएको थियो ।
यस्तै आर्मीले सेमिफाइनलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको थियो ।
यस अघि समूह चरणमा पनि एपीएफ र आर्मीबीच प्रतिस्पर्धा भएको थियो । जसमा एपीएफले आर्मीलाई ४–२ गोलले हराएको थियो ।
त्यसअघि एपीएफले सिक्किम युनाइटेडलाई १८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । सिक्किमविरुद्धको खेलमा सावित्रा भण्डारी एक्लैले ९ गोल गरेकी थिईन् ।
यसैगरी दोस्रो खेलमा एपीएफले प्रदेश नम्बर १ लाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
आर्मीले पहिलो खेलमा प्रदेश १ लाई ९–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले सिक्किम युनाइटेडलाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।