काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन सुशील राईले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका सुशीलले गोल गरेका थिए ।
यस अघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा थ्री स्टारले डरलाग्दो आक्रमण गरेको थियो । फरवार्ड वासिउ हाज्मतको कडा प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे ।
यस्तै खेलको ५५ औं मिनेटमा पुलिसका रबी पासवानको वान भर्सेस वान प्रहार थ्री स्टारका विदेशी गोलकिपर प्रिसो एनजान्गाले उत्कृष्ट बचाउ गरेका थिए ।
जितसँगै थ्री स्टारले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
पुलिसको यो पहिलो हार हो । पहिलो खेलमा पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

के भन्छन् प्रशिक्षक ?
जितपछि थ्री स्टारका प्रशिक्षक मेघ राज केसी खुसी देखिए ।
'हामीलाई ३ अंक जोड्नु आवश्यक थियो । त्यसैका लागि खेलेका थियौं,' प्रशिक्षक केसीले भने, 'अन्तिममा नतिजा आयो । खुसी छौँ ।'

पुलिसका प्रशिक्षक अनन्त थापाले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भएको बताए । उनले टिममा स्ट्राइकरको समस्या देखिएको समेत बताए ।
'हाम्रो स्ट्राइकमा समस्या छ । अन्य टिममा अफ्रिकन स्ट्राइकर राम्रा छन् । हामीले पाएको अवसरमा गोल गर्न सकेनौं । उनीहरुले भन्दा हामीले बढी पाएका थियौं,' उनले भने ।

थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, सुशन श्रेष्ठ,बिक्रम लामा (कप्तान),प्रविन कुमार सैंजु, प्रिसो एनजान्गा, वासिउ हाज्मत,मिक्छेन तामाङ,रुपेश केसी,दिपेश घले,शुसिल राई, अशोक खवास
पुलिस प्लेईङ सेट -
अजित भण्डारी, अन्जन राई,हेम तामाङ, निर कुमार राई (कप्तान),रबी पासवान,सन्तोष हेम्रन,सत्रुधन चौधरी,सुमन लामा, तेज तामाङ,प्रवेश कुवर, तिर्थ बहादुर राना

