एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । जसमा चेल्सी र टोटेनहम तथा म्यानचेस्टर युनाइटेड र वाट्फोर्डबीच खेल हुनेछ ।
फ्रान्क लाम्पार्टको चेल्सीले टोटेनहमसँग उसैको मैदानमा खेल्नेछ । जोसे मोरिन्होको नेतृत्वमा रहने टोटेनहम र चेल्सीबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम चेल्सीलाई पराजित गर्दै शीर्ष चारमा उक्लने प्रयास गर्नेछ । १७ खेलमा २६ अंक जोडेर टोटेनहम सातौं स्थानमा रहेको छ ।
चेल्सी २९ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । र, चेल्सी घरेलु टिमलाई हराएर शीर्ष तीन टिमविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।
यस्तै अर्को खेलमा युनाइटेडले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युनाइटेड सहज जितको खोजीमा हुनेछ । २५ अंक जोडेको युनाइटेड लिगको आठौं स्थानमा रहेको छ । युनाइटेड जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
वाट्फोर्ड ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । घरेलु मैदानमा वाट्फोर्ड युनाइटेडलाई स्तब्ध बनाउने योजनामा हुनेछ ।